Comments Add Comment

प्रधानमन्त्रीलाई वैद्य माओवादीको ११ बुँदे ज्ञापनपत्र

२१ मंसिर, काठमाडौं । राष्ट्रिय सहमतिको लागि अविलम्ब सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभा आयोजना गर्न माग गर्दै नेकपा-माओवादी नेतृत्वमा सम्पूर्ण जनवर्गीय संगठन तथा जातीय-क्षेत्रीय मोर्चाहरू सम्मिलित संयुक्त जनसमिति नेपालले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार बुझाइएको ज्ञापनपत्रमा दोस्रो संविधानसभाबाट उत्पीडित जातिहरूको पहिचानसहितको संघीय गणतन्त्रात्मक संविधान निर्माणको सम्भावना नदेखिएको भन्दै संविधानसभा विघटन गर्न माग गरिएको छ ।

‘नयाँ संविधान निर्माणका लागि विद्यमान अवस्थामा राष्ट्रिय सहमति अनिवार्य शर्त हो, परन्तु, राष्ट्रिय सहमतिको लागि दोस्रो संविधानसभा स्वयं वाधक पनि देखिएकोले दोस्रो संविधानसभाको अविलम्ब विघटन गरी राष्ट्रिय सहमतिको लागि राजनीतिक रुपले निर्णय गर्नसक्ने अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गरियोस्,’ ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै जनयुद्धकालीन मुद्दा खारेज गर्न, दोस्रो संविधानसभा निर्वाचनको बहिस्कारको क्रममा पक्राउ परेकालाई रिहा गर्न, वेपत्ता पारिएका नागरिकहरूको खोजी गरी सार्वजनिकीकरण गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्बन्धी सम्झौता खारेज गर्न, सन् १९५० लगायतका नेपाल-भारतबीचका असमान सन्धिसम्झौताहरू खारेज गर्न माग गरिएको छ ।

११ बुँदे ज्ञापनपत्रमा कालापानी लगायतका सीमावर्ती क्षेत्रमा नेपालको भूमिमाथि गरिएको अतिक्रमण बन्द गर्न, जनयुद्धकालीन शहीदपरिवार, वेपत्तापरिवार र घाइते-अपाङ्गहरूको उचित राहत तथा संरक्षणको व्यवस्था गर्न पनि माग गरिएको छ ।

नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख गरेका माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment