२५ मंसिर, काठमाडौं । लुइस स्वरेजले नाउक्याम्पमा पहिलो गोल गर्दा बार्सिलोना समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनमाथि ३–१ को जित हात पारेको छ ।
एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्ने क्रममा बार्सिलोनाका तीनै फवार्ड लिओनल मेस्सी, नेयमार र स्वरेजले गोल गरे ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पेरिस सेन्ट जर्मेनले १५ औं मिनेटमा जाल्टन इब्राहिमोभिचको गोलबाट अग्रता लिएको थियो ।
तर, पाहुना टोलीले अग्रतालाई चार मिनेटभन्दा जोगाउन सकेन । मेस्सीले १९ औं मिनेटमा बराबरी गोल फर्काए । स्वरेजको पासमा उनले क्लोज रेन्जबाट गोल गरे । उनको यो च्याम्पियन्स लिगमा ७५ औं गोल हो ।
४१ औं मिनेटमा नेयमारले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा स्वरेजले गोल गरेपछि बार्सिलोना ३–१ को जितका साथ समूह विजेता बनेको छ ।
हारपछि पनि पेरिस सेन्ट जर्मेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
प्रतिक्रिया 4