२६ मंसिर, काठमाडौं । बढ्दो सवारी दुर्घटना नियन्त्रणको उपाय खोज्न गठित समितिले शुक्रबारदेखि काम सुरू गरेको छ ।

पहिलोचरणमा सम्बन्धित पक्षसँग औपचारीक र अनौपचारीक छलफल अघि बढाइएको समिति संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात क्षेत्र सुधारका लागि समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका एआईजी, कानून मन्त्रालयका सहसचिव, गृहमन्त्रालयका सहसचिव तथा यातायात विभागका महानिर्देशक सदस्य छन् ।
‘१५ दिनभित्र अल्पकालीन र दीर्घकालीन योजनाहरु समावेश गरी ३ चरणमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएकोले शुक्रबारबाटै काम शुरु गरेका छौं,’ समिति संयोजक सिटौलाले भने ।

यातायात व्यवसायी असन्तुष्ट
सरकारले गठन गरेको समितिमा आफूहरुलाई नसमेटेको भन्दै यातायात व्यवसायीले असन्तुष्टी जनाएका छन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरोकारित पक्षलाई नसमेटिएको गुनासो गरे ।
‘यातायात व्यवसायी, चालक, मजदुर दुर्घटनासँग प्रत्यक्ष सरोकार राख्ने पक्ष हुन्, तर हामीलाई नसमेटेको समितिले कसरी काम गर्ला ?’ अनलाइनखबरसँग कुरा गर्दै सिटौलाले भने, ‘समिति गठनबारे अहिलेसम्म औपचारिक जानकारी पनि छैन ।’
प्रतिक्रिया 4