२७ मंसिर, काठमाडौं । शनिबार दशरथ रंगशालामा हुने तय भएको कार्यक्रम स्थगित भएपनि भारतका चर्चित कमेडियन कपिल शर्मा काठमाडौं आए ।
‘कार्यक्रम स्थगित भएको ५० प्रतिशत दुःख र काठमाण्डौ आउन पाएकोमा ५० प्रतिशत खुसी लागेको छ,’ शनिवार साँझ काठमाण्डौमा नेपाली संचारकर्मीसँग कुरा गर्दै उनले भने ।
आफूलाई मन पर्ने ठाउँ भएकाले कार्यक्रम रद्द भए पनि काठमाडौं आएको उनले बताए ।
चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का दादी (अली अस्गर) र राजुको साथमा काठमाडौं आएका कपिलले कार्यक्रम रद्द भएकोमा दुःख व्यक्त गर्दै नेपाली दर्शकहरुका लागि छिट्टै अर्को कार्यक्रम लिएर आउने बताए ।
‘धेरै मानिसहरुलाई भेट्ने यो उपयुक्त मौका थियो । तर हुन सकेन’ उनले भने-‘नेपाली दर्शकका लागि हामी छिट्टै केही गर्छौं ।’
सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने-‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ । तर, सुरक्षा पनि मुख्य कुरा हो । कार्यक्रम स्थलमा केही समस्या रहेछ । कार्यक्रम भएर त्यहाँ कुनै भागदौड भइदिएको भए नराम्रो हुन सक्थ्यो ।’
भिडियो
काठमाडौंको कार्यक्रम रद्ध हुन्छ भन्ने कहिल्यै सोचेको थियो भन्ने प्रश्नमा उनले आफ्नो कमेडियन शैलीमा भने-बडेबडे देशमे छोटे-छोटे बात होते रहेते है।’
नेपाली दर्शकलाई हसाउन नपाए पनि आफू पशुपतिनाथको दर्शन गरेर जाने कपिलले बताए ।
मेरो कार्यक्रममाथि कसैको नजर लाग्यो
पत्रकारहरुसँगको भेटपछि उनले एनसेलका कर्मचारी र व्यापारीहरुसँग पनि भेट गरे । उनीहरुलाई सम्बोधन गर्दै उनले भने-‘म चाहन्थेँ कि शो निकै राम्रो होस् तर, हाम्रो कार्यक्रममाथि कसैको आँखा लाग्यो ।’ केहीबेर अडिएर उनले हाँस्दै भने-बंगलादेशबालो की ?’
अझ भब्य कार्यक्रम गर्ने गरी छिट्टै नेपाल आउन प्रयास गर्ने र त्यसबेला कमेडी नाइट विथ कपिलको सम्पूर्ण टीम नै लिएर आउने उनले बाचा गरे ।
नेपाल पनि घर जस्तै लाग्छ
कपिलले सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए । अष्ट्रेलियामा छायांकन भएको कार्यक्रममा बाहिरका मानिसहरु आएर सगरमाथा चढ्छन् तर हामी (भारतीय) घरमै चढ्दैनौं मात्र भनेको उनले बताए ।
कसैको भावनामा चोट पुगेको भए आफूले माफी मागिसकेको भन्दै उनले कमेडियन शैलीमा भने-‘नेपाल पनि घर जस्तै लाग्छ । अमृतसर (आफ्नो घर) जान जान ३ घन्टा लाग्छ, नेपाल दुई घन्टामै आइपुगिन्छ ।’
पत्रकारहरुसँगको भेटमा पनि कपिल शर्मा टीभी शोमा जस्तै ठट्यौली पारामा प्रस्तुत भए ।
नेपाली केटीसँग बिहे !
अहिलेसम्म अविवाहित हुनुहुँदोरहेछ । कुनै नेपाली केटीसँग विहे गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने-‘यस्तो अफर आएको छैन । आयो भने बिचार गर्छु ।’
तपाईको छेउछाउमै छन् नि भन्ने प्रश्नमा उनले सँगै बसेका हास्य कलाकार जितु नेपाललाई देखाउँदै भने-‘उहाँ ?’
कार्यक्रममा पत्नीको भूमिकामा रहेकी महिला राम्रो भएपनि किन यति धेरै होच्चाएको भन्ने प्रश्नमा उनले भने- तपाईलाई मेरी श्रीमती राम्रो लाग्यो ? ठिकै हो, सबैलाई अरुकै श्रीमती राम्रो लाग्छ ।’
जीवनमा कतिको रुनुहुन्छ भन्ने प्रश्नमा उनले धेरैपटक रोएको बताए । तर, पछिल्लो पटक कहिले रोएँ भन्ने याद नभएको जवाफ दिए ।