+
+

टेलिकमको रिचार्जमा खराबी आएपछि मोबाइल प्रयोगकर्ता मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २८ गते ११:३०

२८ मंसिर, काठमाडौं । मुलुकको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको रिचार्जमा शुक्रबार बेलुकादेखि समस्या देखिएको छ । रिचार्जमा समस्या आएपछि पोष्टपेड र प्रिपेड मोबाइल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।

100रिचार्ज कार्ड किनेर रिचार्ज गर्न खोज्दा नभएपछि मोबाइल प्रयोगकर्ताहरुले फोन गर्न नसक्ने रिसिभ मात्रै गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले शनिबार बेलुकादेखि समस्या समाधान भएको दाबी गरे । तर, आइतबार पनि रिचार्जमा हुन नसकेको पीडितले बताएका छन् ।

पटक-पटक रिचार्ज गर्न खोज्दा पनि रिचार्ज नभएपछि सेवाग्राही पदमप्रसाद पोखरेलले राष्ट्रको सञ्चारको यस्तो हबिगत भएको भन्दै रोष प्रकट गरे । टेलिकम सेवाग्राहीको जिम्मेवारीप्रति उदासीन बनेको उनको गुनासो छ ।

किन हुँदैन रिचार्ज ?

टेलिकमको बिल भुक्तानी गर्ने ‘भौचर म्यानेजमेन्ट सिष्टम’मा समस्या देखिएपछि रिचार्ज हुन नसकेको प्रबन्ध निर्देशक आचार्यले अनलाइखबरलाई बताए । ‘कहिलेकाहीँ नसोचिएको मात्रामा ग्राहकहरुबाट रिचार्ज गर्ने काम हुन्छ,’ आचार्यले भने, ‘यसैले गर्दा रिचार्ज हुन नसकेको हो ।’

‘शनिबार सिष्टमबाट क्षमताभन्दा बढी रिचार्ज हुन खोजेपछि लोड बढेर समस्या देखिएको हो’ उनले भने- ‘तर, शनिबार बेलुकैदेखि समस्या समाधान भइसकेको छ, अहिले रिचार्ज क्यूमा रहेको हुँदा केही समस्या देखिएको हुन सक्छ ।’

भौचर म्यानेजमेन्ट सिष्टममा सबै ग्राहकहरुलाई थेग्न सक्ने क्षमतामा रहे पनि कहिलेकाहीँ मात्र यस्तो समस्या आउने गरेको टेलिकम प्रवक्ता मधुसुदन कर्माचार्यले बताए ।

‘पहिला पि्रपेड मोबाइलको मात्र सिष्टमबाट बिल भुक्तानी हुने गथ्र्यो, अहिले टेलिकमले सुविधा विस्तार गर्दै जाँदा पोष्टपेड मोबाइल, एडीएसएल, पिएटीएन लगायतका बिलहरु यही सिष्टमबाट भुक्तानी हुन्छ’ प्रवन्ध निर्देशक आचार्यले भने- ‘सबै सेवाको बिल एउटै सिष्टमबाट भुक्तानी हुने भएपछि हामीले सिष्टमको क्षमता विस्तार गर्ने प्रकृया अगाडि बढाइरहेका छौं ।’

टेलिकम प्रवक्ता कर्मचार्यका अनुसार सिष्टम अप्रग्रेडेड गर्न टेन्डर आहृवान भइसकेको भए पनि अख्तियारमा फाइल गएको हुँदा काम रोकिएको छ । यसको छिनोफानो गराएर तुरुन्त काम अगाडि बढाउने तयारीमा रहेको उनको भनाइ छ ।

कार्डबाट मोबाइल रिचार्ज नभए पनि वेभ तथा बैंकबाट भने रिचार्ज भइरहेको प्रवक्ता कर्माचार्यको दाबी थियो । उनका अनुसार रिचार्ज कार्डमा मात्र समस्या आएको थियो ।

सेवाग्राहीले सानो रकमसमेत ट्रान्सफर गर्ने गर्दा लोड बढ्ने गरेको कर्माचार्यको भनाइ छ । सेवाग्राहीले दुई रुपैयाँसम्म पनि ट्रान्सफर गर्ने गरेको बताउँदै उनले हाम्रो सिष्टममा दुई रुपैयाँ ट्रान्सफर गर्न नमिल्ने हुँदा सेवाग्राहीले पहिला अर्को मोबाइलबाट १२ रुपैयाँ ट्रान्सफर गर्ने र १० रुपैयाँ फिर्ता गर्नेसम्म गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?