Comments Add Comment

नेपाली महिला पर्वतारोहण टोलीको विश्वकीर्तिमान

१० पुस, काठमाडौं । पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ ।

विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो ३ बजे अन्टार्टिका महाद्वीपको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो ।

टोलीकी संयोजक शैली बस्नेतका अनुसार चार हजार ८ सय ९२ मिटर अग्लो सो शिखर चुम्ने आरोहीमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ र निम्डोमा शेर्पा रहेका छन् ।

महिला मात्र सम्मिलित टोलीले सातै महादेशका सर्बोच्च शिखरको सफलतापुर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो ।

विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहणबाट सुरु भएको यस अभियानअन्तर्गत उक्त समावेशी टोलीले यसअघि अष्ट्रेलिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो ।

उचाइ धेरै नभए पनि अति नै चिसो, जोखिम, दूरी र खर्चका दृष्टिले सात शिखरमध्ये सबैभन्दा चुनौतीपूर्ण आन्टार्टिका रहेको टोली संयोजक बस्नेतको भनाइ छ ।

आफ्नो टोलीको असाधारण अभियान सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, पर्यटन बोर्ड, उद्योगी, व्यवसायी, विदेशस्थित नेपाली राजदूतावासलगायत सम्पूर्ण स्वदेशी, विदेशी सहयोगीप्रति समावेशी महिला पर्वतारोही दलले आभार व्यक्त गरेको छ ।

हिमशिखर आरोहणका साथै महिला सशक्तीकरण, बालिका शिक्षा र पर्यावरण संरक्षणलाई पनि आफ्नो अभियानको उद्देश्य बनाएको सो सात सदस्यीय टोलीमा आशाकुमारी सिंह र पुजन आचार्य पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment