Comments Add Comment

प्रहरी प्रमुख अर्यालले भने- घाँटीको काँडा निस्किएजस्तै भयो

Upendra kanta aryal

१९ पुस, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यापछि तत्कालीन डीआइजी उपेन्द्रकान्त अर्यालले घटनास्थल पुगेका पत्रकारलाई ‘हत्यारा छिट्टै पत्ता लाग्छ’ भनेका थिए ।

त्यसको केही सातासम्म पत्रकारहरुले उनलाई प्रश्न गरिरहे, बमको हत्यारा कहिले पत्ता लाग्छ ?

अवस्था यस्तो आयो, प्रश्न गरिरहने पत्रकारलाई देख्नासाथ उनलाई डर लाग्थ्यो, कतै फेरि त्यही सोध्ने हुन् कि ?

घटना भएको दुई वर्ष सात महिनापछि हत्याका योजनाकार बाबु थापासहित चारजनालाई पक्राउ गरेर शनिबार पत्रकार सम्मेलन गर्दा उनी प्रहरी महानिरीक्षक बनिसकेका थिए ।

आफूलाई आएको प्रश्न सम्झँदै अर्यालले भने-‘घाँटीको काँडा निस्किएजस्तै भएको छ ।’

घटनाको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह राणाको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान समितिमा अर्याल पनि थिए ।

घाँटीमा अरु पनि काँडा छन्

केही ढीलो भए पनि प्रहरी तथ्यसम्म पुग्न सकेको भन्दै महानिरीक्षक अर्यालले यो घटनाबाट सुखानुभूति भएको बताए ।

रानीबारी लगायतका हत्याकाण्डबारे के भइरहेको छ भन्ने प्रश्नमा प्रहरी प्रमुख अर्यालले भने-अरु पनि केही काँडा हाम्रो संगठनको घाँटीमा छन् । रानीबारी, बडीखेललगायतका घटनाबारे हामी टिमले अनुसन्धान गरिरहेका छौं । हामी छिट्टै सार्वजनिक गर्छौं ।’

दशककै हाइप्रोफाइल हत्या

अर्यालले यसलाई पछिल्लो दशकमै भएको हाइप्रोफाइल हत्या भनेका छन् । यसमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन प्रहरीले ठूलो स्रोत साधन प्रयोग गरेको उनले बताए ।

‘मेरो सेवा अवधिमा स्रोत साधनको धेरै प्रयोग भएको यो नै होला । २/३ महिना त म स्वयंम संलग्न थिएँ’ उनले भने-‘ढिलै भए पनि हामी यसमा मिस हुन चाहँदैनथ्यौं ।’

अनुसन्धानका क्रममा २ लाख एसएमएस तथा हजारौं फोन कलको अध्ययन गरिएको उनले जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा ६४ पुरुष र चार महिलासँग सोधपुछ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment