Comments Add Comment

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत राजमार्ग छिट्टै निर्माण हुन्छ’

Ramsaran-Mahat

२० पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले शनिबार बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई द्रुत राजमार्गको अवलोकन गरेका छन् ।

विकास निर्माणलाई रफ्तारमा लैजाने सोँचसहित महतले आयोजनाहरुको स्थलगत भ्रमणको सिलसिला शुरु गरेका हुन् । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनमा र काठमाडौं-तराई द्रुत राजमार्गको  निर्माणले माल सामान ढुवानीमा क्रान्तिकारी सुधार ल्याउने भन्दै उनले बजेटमा यी दुवै आयोजनालाई उच्च प्राथमिकतामा राखेका थिए ।

चालु आर्थिक बर्षको बजेटमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्वका काम पूरा गर्न र बस्ती स्थानान्तरणका लागि ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै, काठमाडौं तराई द्रुत राजमार्गको निर्माणलाई पनि उच्च प्राथमिकतामा राखी निर्माण शुरुवात यसै बर्ष गर्ने उद्घोषका साथ निर्माण पूर्वका काम सक्न २५ करोड रुपैयाँ छुट्याइएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गढीमाई नगरपालिकामा पर्ने टाँगी बस्तीलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ । यो द्रुतमार्गलाई निर्माण, सञ्चालन र हस्तान्तरण बूट प्रक्रिया अन्तर्गत निर्माण गर्न बोलपत्र आहृवान गरिसकिएको छ र अहिले प्राविधिक प्रस्ताव स्वीकृत भै छनौट भएका दुबैको आर्थिक प्रस्तावलाई अन्तिम रुप दिने तयारी भैरहेको छ ।

अर्थमन्त्री महतले विमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्रको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्ने ठोकुवा गरे । बिमानस्थल र द्रुतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले चासो देखाएको उल्लेख गर्दै उनले लगानी जुटेन भने सरकार आफैले पनि यी आयोजनालाई समयमै सम्पन्न गर्ने बताए ।

विमानस्थलका लागि जग्गा अधिग्रहणको काम शुरु गरिहाल्न आफूले सम्वन्धित मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर निर्देशन दिइसकेको उनले स्पष्ट पारे । उनले विकास निर्माणका काममा एकदिन पनि ढिलाई हुन नहुने कुरा बताउँदै दिनरात लागेर काम गर्न कर्मचारीहरुलाई निर्देश गरे ।

उनको भनाई थियो, विकास निर्माणमा एकदिनको ढिलाई पनि आर्थिक अपराध हो । सोही अवसरमा उनले नेपालको सुन खानीभन्दा पनि महंगो पानी सित्तैमा खेर जानु पनि आर्थिक अपराध हो भन्दै यसको प्रयोगमा हुने बाधा अवरोधहरु सरकारलाई असहृय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment