Comments Add Comment

मुठभेड संविधानसभाबाटै सुरु हुने ३० दलको निष्कर्ष

30-party-Meet

२० पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाभित्र संविधानसभामा हुन सक्ने सम्भावित मुठभेडबारे चर्चा परिचर्चा सुरु भएको छ ।

दलहरुबीच जारी सहमतिको प्रयास सफल हुन नसकिरहेका बेला सडक आन्दोलनमा रहेको मोर्चाको बैठकमा मुठभेडको आँकलन गर्न थालिएको हो । प्रचण्ड मोर्चाको आइतबार बसेको बैठकले संविधानका विवादित विषयमा ९ बुँदे साझा अवधारणा समेत बनाएको छ ।

बैठकमा एमाओवादी अध्यक्षसमेत रहेका संयोजक प्रचण्डले कांग्रेस-एमालेसँगको छलफल सकारात्मक भए पनि ठोस सहमति भइनसकेको बताए । ‘पहिलेभन्दा गम्भीर भएको महसुस भएको छ तर, सहमति भने भइसकेको छैन’ प्रचण्डले बैठकमा भनेका छन् ।

सोमबारसम्म दलहरुबीच सहमति नभए संविधानसभाले एउटा प्रक्रिया अघि बढाउने भन्दै उनले कांग्रेस र एमालेले पेलेर जान खोजे मुठभेड हुने बताए । ‘पहिले संविधानसभामा मुठभेड हुन्छ, अनि मात्रै सडकमा हुन्छ भन्ने नेताहरुले बताए’ एक नेताले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाका गोप्य बैठकहरुमा संविधानसभामा हुनसक्ने सम्भावित मुठभेडको प्रकृतिबारे पनि चर्चा हुने गरेको छ । संविधानसभामा हुने मुठभेडका आधारमा नै सडकमा जनता आउने मोर्चाको निष्कर्ष छ ।

९ बुँदे साझा अवधारणा

३० दलीय मोर्चाले संविधानका विवादित विषयमा ९ बुँदे साझा अवधारणा बनाएको छ । यसअघि कांग्रेस र एमालेले पनि सात प्रदेशसहितको ९ बुँदे साझा अवधारणा बनाएको थियो ।

३० दलीय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले अनलाइनखबरलाई बताएअनुसार बैठकमा आएका सुझाबलाई समेटेर सोमबार साझा प्रस्तावलाई अन्तिम रुप दिइनेछ ।

मोर्चाले तराई-मधेसमा मधेस र थरुहटसहितको १० प्रदेशको अवधारणा अघि सारेको छ । यसमा शेर्पा प्रदेशलाई समेत समावेश गरिएको छ ।

प्रत्यक्ष निर्वाचित र संसदबाट निर्वाचित प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँड गर्ने फ्रेन्च मोडलको शासकीय स्वरुप, मिश्रति निर्वाचन प्रणाली र ३०१ सस्दस्यीय प्रतिनिधिसभा र ७५ सदस्यीय राष्ट्रिय सभा बनाउने ३० दलले बनाएको साझा अवधारणामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment