१४ माघ, वीरगन्ज । पर्साको हरपुर-८ बडेर्वामा प्रहरी र गाउँलेबीचको झडप हुँदा तीन प्रहरीसहित सात जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले ६० भन्दा बढी राउण्ड गोली चलाएको छ।
सरयुग चौधरीलाई पक्राउ गर्न आइपुगेको काठमाडौंको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीलाई स्थानीयले अवरोध गरेपछि उद्धारका लागि पुगेको थप प्रहरी र गाउँलेबीच झडप भएको हो ।
सरयुग चौधरीको साथबाट प्रहरीले हात्तिको दाँत बरामद गरेको छ । हात्तीको दाँतसहित पक्राउ परेका चौधरीलार्इ लिएर फर्कन खोज्दा स्थानीयले सिआइबी टोलीको गाडी तोडफोड गरेका थिए ।
स्थानीयबासीले ढुँगामुढा गरेपछि भीडलाई तितरबितर गर्न र सिआइबी टोलीको उद्धार गर्न हवाइ फायरिङ गर्नुपरेको पर्सा प्रहरीले जनाएको छ ।
झडपमा चार स्थानीय गम्भीर घाइते भएका छन् । नारायणपी उपक्षेत्रीय अस्पतालमा उपचारपछि उनीहरूलार्इ थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं रिफर गरिएको छ ।
यस्तै तीन प्रहरी सामान्य घाइते भएका छन् ।