१९ माघ, काठमाडौं । सरकारी स्वामित्वमा मुलुकभर ९० हजार छ सय ३० रोपनी (चार करोड ६१ लाख १० हजार सात सय ४१ वर्गमिटर) जग्गा र छ हजार दुई सय ७१ घर र नौ हजार २७ सवारी साधन छन् । महालेखानियन्त्रक कार्यालय (मलेनिका)ले आव ०६९/७० को विवरणका आधारमा तयार पारेको विवरण अनुसार मुलुकभर सरकारी स्वामित्वमा एक हजार चारसय चार पक्की र चार हजार आठसय ६७ कच्ची घर छन् ।
मलेनिकाका अनुसार पाँच जिल्ला गुल्मी, मनाङ, मुगु, डोल्पा र जाजरकोटमा भने अझै कुनै पनि सवारीसाधन र जग्गाको विवरण देखाइएको छैन् । मुलुकभर एक हजार छ सय ८६ सरकारी कार्यालय रहेको कारोबारमा खबर छ ।
महालेखानियन्त्रक शंकरप्रसाद अधिकारीले सरकारी सम्पत्तिको तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको बताए । गत वर्षका विवरण आउने क्रम जारी रहेकाले केही समयमा यकिन तथ्यांक आउने भन्दै उनले सरकारी सम्पत्तिलाई प्रचलित मूल्यअनुसार मूल्यांक गर्न कठिन भएको बताए ।
बढि जग्गा हुने पाँच जिल्लामा कञ्चनपुर, रुपन्देही, मकवानपुर, बाँके र चितवन रहेका छन् । कञ्चनपुरमा १४ हजार तीन सय १५ रोपनी, रुपन्देहीमा १२ हजार तीन सय ६८, मकवानपुरमा आठहजार छ सय ६६ रोपनी, बाँकेमा तीन हजार नौ सय ६१ रोपनी र चितवनमा तीन हजार नौ सय ४९ रोपनी जग्गा रहेको छ ।
त्यस्तै चारहजार छ सय ९७ वटा मोटरसाइकल र स्कुटर, एकहजार पाँचसय २५ जिप, सातसय ५० पिकअप, छ सय ६२ ट्रक, लहरी र कन्टेनर तथा छ सय ३० कार रहेका छन् ।
प्रतिक्रिया 4