+
+

केपी र बाबुरामको महाभारत : कसले जित्ला ?

२० माघ, काठमाडौं । संविधानसभामा मध्यरातमा मन्तव्य दिँदा एमाओवादी नेता डा. बाबुराम भट्टराईले ‘महाभारत’ को प्रशंग कोट्याए । एमाले अध्यक्ष केपी ओलीले पनि बालकोटमा बसेर महाभारतको कथा राम्रोसित पढेकै छन् ।
नेपाली राजनीति अब केही समय केपी ओली भर्सेज बाबुराम भट्टराईपथमा अघि बढ्ने संकेत देखिएको छ । सुशील र प्रचण्डचाँहि दुई अलग रथमा बिराजमान ‘सेरमोनियल’ पात्र जस्तै देखिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १९:२८

अरुण बराल/ टिप्पणी

२० माघ, काठमाडौं । संविधानसभामा मध्यरातमा मन्तव्य दिँदा एमाओवादी नेता डा. बाबुराम भट्टराईले ‘महाभारत’ को प्रशंग कोट्याए । एमाले अध्यक्ष केपी ओलीले पनि बालकोटमा बसेर महाभारतको कथा राम्रोसित पढेकै छन् ।

Kp Baburam Mahabharat_onlinekhaber

नेपाली राजनीति अब केही समय केपी ओली भर्सेज बाबुराम भट्टराईपथमा अघि बढ्ने संकेत देखिएको छ । सुशील र प्रचण्डचाँहि दुई अलग रथमा बिराजमान ‘सेरमोनियल’ पात्र जस्तै देखिन्छन् ।

बाबुरामको दृष्टि

केही समययता एमाओवादी नेता डा. बाबुराम भट्टराई ‘रेडिकल क्रान्तिकारी’ देखिन थालेका छन् । शान्ति र संविधानको आफ्नो लाइनअनुसार पार्टी यहाँसम्म आइपुगेको अवस्थामा आवश्यक परे संविधानसभा छाडेर फेरि एक पटक सत्तापक्षसँग महाभारतको लडाइँ लड्नुपर्ने दृढता भट्टराईमा देखिएको छ ।

एमाओवादी पार्टी र ३० दलीय मोर्चाको बैठकमा सहभागीहरुका अनुसार डा. भट्टराई प्रचण्डभन्दा पनि निकै खरोरुपमा प्रस्तुत हुन थालेका छन् ।

डा. भट्टराईको दाबीअनुसार एमाले र कांग्रेसले संविधानसभा अन्तरवस्तुमा जतिसुकै झुके पनि एमाओवादी, मधेसवादी र जनजातिका मुद्दालाई सम्बोधन नगर्ने नीति लिएका छन् । डा. भट्टराईले भन्ने गरेका छन्, एमाओवादीलाई अपराधी सावित गरेर जेल हाल्नेसम्मको रणनीतिमा एमाले र कांग्रेसले खेल खेलिरहेका हुनाले अब एकपटक महाभारत लड्नुको विकल्प छैन । भट्टराईको यो आँकलन गलत नहुन पनि सक्छ ।

मोहन वैद्यले एमाओवादीलाई संविधानसभाबाट निस्कन दबाव दिइरहेका बेला डा. भट्टराई पनि संविधानसभा छाड्ने लाइनमा उभिन पुगेका छन् ।

एमाले र कांग्रेससँग एकपटक वार कि पार हुने गरी नभिडी नहुने भट्टराईको ‘अर्जुनदृष्टि’ देखिन्छ ।
आसन्न ‘महाभारत’मा प्रचण्डलाई आफ्नै रथमा राखेर अघि बढ्न चाहन्छन् डा. भट्टराई । संवैधानिक सम्वाद समितिमा सभापति रहँदा केपी ओलीले गरेको ‘अपमान’का कारण डा. भट्टराई ओलीप्रति बढ्ता आक्रामक बनेका हुन् ।

केपीको प्लान

केपी ओली ढलपल गर्ने खालका नेता होइनन् । जातीयता र क्षेत्रीयताको विरोध गर्दा सामाजिक सञ्जालमा आएका कमेन्ट र खस समुदायको प्रशंसाबाट हौसिएका ओली मर्नेबेलामा संविधान बनाएर ‘कीर्ति’ राख्न चाहन्छन् । यसका लागि प्रधानमन्त्री पनि उनको गौण महत्वको विषय बनेजस्तो देखिन थालेको छ ।

केही विश्लेषकहरुको दाबीअनुसार ओलीको प्लान स्पष्ट र सपाट छ । माघ २२ मा संविधानसभाको बैठक बोलाइएको अवस्था छ । प्रश्नावली समितिले प्रश्नावली पनि बनाइरहेकै छ । अब संविधानसभामा फटाफट प्रक्रिया अगाडि बढाउने र सकभर फागुनभित्रै संविधान जारी गराउने ।

संविधान जारी भइहालेको अवस्थामा फाट्ट-फुट्ट आन्दोलन हुने र त्यसलाई टार्न सकिने ओलीमा दृढ देखिन्छन् ।
संविधान बनेपछि सुशील कोइरालाको ठाउँमा आफू प्रधानमन्त्री बनेर समस्यालाई ‘ट्याकल’ गर्ने ओलीको मनसुवा देखिन्छ ।

बाबुरामको बल

आन्दोलनकारीमध्ये सबैभन्दा स्पष्ट र ढुलमुलरहित देखिएका डा. भट्टराईको ‘ब्याकअप’ के हो ? यसबारेमा डा. भट्टराई पटक्कै आत्तिएका देखिन्नन् ।

दोस्रो संविधानसभामा तेस्रो स्थानमा आए पनि एमाओवादी १५ लाख मत पाएको दल हो । यसका साथै मधेसवादी पार्टीहरु एमाओवादीकै दूर्गमा छन् । विजय गच्छदारलाई आफूतिर तान्न खोज्ने ओलीको प्रयास सफल भएको छैन । आदिवासी जनजातिका परम्परागत शक्तिहरु भट्टराईपट्टि नै छन् ।

Baburam

चुनाव बहिस्कार गरेका वैद्य र विप्लवहरुको समूह यो महाभारतमा डा. भट्टराईसँग एकाकारै नभएता पनि एउटै कित्तामा उभिनेमा उनी पूर्ण विश्वस्त छन् ।

हिन्दुराष्ट्र भएन भनेर चित्त दुखाइरहेका कमल थापा र खुमबहादुर खड्काहरुले भट्टराईको कित्तालाई प्रत्यक्ष सघाउने छैनन्, तैपनि सत्तापक्षको विरोधमा उनीहरुको उभ्याइले ओली पक्षको मनोवलमाथि प्रतिकूल प्रभाव पार्नेछ । र, यसको फाइदा सत्तापक्ष भन्दा प्रतिपक्षलाई नै बढी पुग्न सक्छ भन्ने डा. भट्टराईले बुझेका छन् ।

अन्तरराष्ट्रिय समुदाय पनि यतिबेला सत्तापक्षसँग त्यति सन्तुष्ट देखिएको छैन । युरोपेली युनियनले सिके राउतसम्मलाई संरक्षण गरिरहेकै छ । प्रधानमन्त्रीले राजदूतलाई हप्काएका हप्कायै छन् । यो स्थितिमा मित्रराष्ट्रहरु, राष्ट्र संघ र भारतीय कूटनीतिज्ञ पनि डा. भट्टराई अर्थात् एमाओवादी मोर्चाका ‘बल’ बन्न पुगेको विश्लेषण आन्दोलनकारीहरुको छ ।

मौसमको हिसाबले हेर्दा अर्को सातादेखि माघ सकिएर फागुन लाग्दैछ । तराई, पहाड जतासुकै अन्नबाली थन्क्याएको समय भएकाले मानिसहरु फुर्सदमा छन् । असार साउनको बेला हुन्थ्यो भने यो परिस्थितिले सत्तापक्षलाई फाइदा गर्ने थियो । तर, अहिलेको मौसम आन्दोलनकारीका लागि अनुकुल छ । यसले आन्दोलनकारीलाई मधेसमा बढी उत्तेजित बनाउन सक्छ ।

ओलीको ‘ब्याकअप’

केपी ओलीको पक्षमा अन्तरराष्ट्रिय समुदाय पनि छैन, हिन्दुवादीहरु पनि छैनन्, मधेसवादी र जनजाति पनि छैनन् । तर, उनी कसको आडमा सबैलाई पेल्न खोजिरहेका छन् ? ओलीको शक्तिको रहस्य के हो ?

केपी ओली आफैंले भन्ने गरेका छन् कि उनी जनता बाहेक अरु कसैको आदेश मान्न तयार छैनन् । यसको अर्थ दोस्रो संविधानसभामा कांग्रेस र एमालेको पक्षमा झरेको ४६ लाख भोट नै ओलीको शक्ति हो । यसमा राप्रपा र माले लगायतको जनमत पनि थपिन्छ ।

KP Oli (2)

रोचक के देखिन्छ भने यतिबेला खुमबहादुरले सबैभन्दा बढी मन पराउने नेता केपी ओली नै हुन् । यो स्थितिमा ओलीले बनाउने संविधानमा ‘धर्म निरपेक्षता’ शब्द हटाइदिए भने कमल थापा र खुमबहादुरको नारा पनि उनैले कब्जा गर्ने छन् । ओली यो रणनीतिमा तत्पर रहेको उनी निकट सूत्रहरुले चुहाउन थालेका छन् । चुनाव हारेको एमाओवादी यतिबेला झनै कमजोर बनेको पनि ओलीलार्इ थाहा छ ।

राष्ट्रवाद (जसलाई एमाओवादी र मधेसवादीहरु पहाडे खस राष्ट्रवाद भन्छन्) पनि ओलीको अर्को मनोवैज्ञानिक उर्जा हो । केपीलाई धेरैले भनिदिएका छन्, एकमात्र राष्ट्रवादी नेता तपाई नै हो, तपाईले नै यो देशलाई अक्षुण राख्नुपर्छ र बचाइदिनुपर्छ ।

यही ‘फिडब्याक’ का आधारमा ओली ‘महाभारत युद्ध’ लड्न मानसिकरुपमा तत्पर देखिन्छन् । देशमा संघीयताको विरोधमा रहेको मतलाई पनि ओलीले ‘क्यास’ गर्ने सम्भावना छ ।

बाबुराम मोर्चाले आफूलाई भारतले सघाउने अनुमान लगाइरहेकै बेला यता ओलीले चाँहि आफ्नो एजेन्डालाई नेपाली सेनाले सघाउने आशा गरेको देखिन्छ । ओलीको यो आशालाई हावादारी मान्न सकिँदैन ।

तैपनि आन्दोलनकारीको दाबी के छ भने प्रथमतः सेनाले अब कांग्रेस र एमालेको आदेश मानेर आफ्नै जनतालाई दमन गर्न मान्दैन । दोस्रो, नेपाली सेना भारतको इच्छा विपरीत चल्दैन ।

तर, आन्दोलनकारीको यो दाबीसँगै के पनि विचारणीय छ भने नेपाली सेनाले मधेसी र माओवादीलाई भन्दा परम्परागत राजनीतिक शक्तिलाई नै रोज्छ । र, मोदी प्रशासनले माओवादीलाई रुचाउनुपर्ने कुनै तार्किक कारण देखिँदैन ।

दलहरुवीच हुन लागेको आसन्न भिडन्तका बारेमा एमाओवादीका एकजना उच्च तहका नेता भन्छन्- ‘सुशील कोइराला एकछिन पनि टिक्दैनन्, त्यसपछि वास्तविक ‘रुलर’ मोर्चामा अगाडि आउने छ ।’ सम्भवतः त्यो वास्तविक ‘रुलर’ केपी ओली नै हुन सक्छन् । र, त्यो ‘रुलर’को ‘ब्याकअप’ छिमेकी चीन पनि हुन सक्छ ।

महाभारतका सम्भावित चार परिणाम

मुलुक अब केही समय मुठभेडतिर जाने लगभग निशिचतजस्तै देखिएको छ । दलहरुवीच सहमति भएन र देश मुठभेडमा गयो भने हुन सक्ने चार सम्भाव्य परिणामलाई यसरी आँकलन गर्न सकिन्छ :

सम्भावना- १

आन्दोलनको सुरुवात नै गर्नु नपरी दलहरुवीच सहमतिको वातावरण बन्छ र मेलमिलाप हुन्छ । (तर, यो सम्भावना निकै कम छ )

सम्भावना-२

केपी ओलीले सोचेजस्तै प्रक्रियामा गएर फटाफट संविधान बन्छ । विपक्षीले आन्दोलनको तयारी गर्दा नगर्दै संविधान आउँछ र जनताले त्यसलाई समर्थन गर्छन् अनि दुईचार ठाउँ नाराजुलुस हुँदै गर्दा संविधान जारी हुन्छ र मुलुक केपी ओलीको प्रधानमन्त्रित्वमा अर्को चुनावतिर धकेलिन्छ । संविधान बनेपछि पनि केही असार साउनसम्म सानातिना आन्दोलन भइरहन्छन् । कतिपय ठाउँमा बम पनि पड्कन सक्छन् ।

तर, यसलाई प्रधानमन्त्रीका रुपमा केपी ओली र गृहमन्त्रीका रुपमा कृष्णप्रसाद सिटौलाले सामना गर्नेछन् । त्यसपछि युद्ध जितेको उन्मादमा माओवादी नेताहरुलाई हेगमा लानेसम्मको प्रयास हुन सक्छ । (यो सम्भावनालाई ५०/५० मान्न सकिन्छ)

सम्भावना-३

सरकार प्रक्रियामा अघि बढ्न खोजेपछि विपक्षीको आन्दोलनले देशै ठप्प हुन्छ । एमाओवादीले संविधानसभा छाड्छ । त्यसपछि बाबुराम भट्टराईले सोचेजस्तै सरकार गलेर फत्र्याक-फुत्रुक हुन्छ र नयाँ सम्झौता अनुसार नयाँ सहमति हुन्छ । एमाओवादी र मधेसवादीसहितको संलग्नतामा राष्ट्रिय सरकार बन्छ ।

र, सोही सहमतिका आधारमा सम्झौता र सहमतिको दस्तावेजका रुपमा एक वर्षभित्र नयाँ संविधान जारी हुन्छ । यस्तो अवस्थामा कांग्रेसका देउवा वा एमालेका माधव नेपालको भाग्य खुल्न सक्छ । (यो सम्भावनालाई पनि ५०/५० कै हाराहारीमा राख्न सकिन्छ)

सम्भावना-४

आ-आफ्नै नेपाली दाजुभाइका वीचमा हुने यो महाभारतको परिणाम ओली वा डा.भट्टराईले सोचेकै बाटोतिर जान्छ भन्ने ‘ग्यारेन्टी’ छैन । यो महाभारतको परिणाम दुबै पक्षको अहितमा पनि हुन सक्छ ।

जस्तो कि मधेसमा सिके राउतको आन्दोलन बलियो हुन सक्छ र मधेसवादीहरु कमजोर बन्न सक्छन् । एमाओवादीमा विप्लवले प्रचण्ड बाबुरामको शक्ति आफूतिर खिच्न सक्छन् र उनीहरुलाई कमजोर पारिदिन सक्छन् । आन्दोलन कथंकाल कमजोर भयो भने स्वदेशी, विदेशी सबैले एमाओवादीलाई साथ नदिँदा हिन्दुवादी शक्तिका नाममा राजतन्त्रले पुनस्थापनाको प्रयास गर्न सक्छ । आन्दोलन उग्र भयो भने त्योबेला संसदवादी र राजावादीको पुनर्मिलन हुने वातावरण बन्न सक्छ । यो स्थितिमा कांग्रेस र एमालेले एक्लै जीत हासिल गर्नुको साटो राजावादी र हिन्दुवादीसहितको जीतमा चित्त बुझाउनुपर्ने हुन सक्छ ।

अर्को खतरा के छ भने यसपालिको आन्दोलनमा सत्तापक्षले प्रतिकारको कुरो गरिरहेका छन् । एमाओवादीका साथमा पहिलेजस्तो बन्दुक छैन । त्यसैले आन्दोलनमा स्थानीय तहमा दलका नाममा जनता-जनतावीचकै मारामार हुने र मुलुक ‘सिभिल-वार’ मा फस्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन । त्यस्तो बेला विदेशी शक्तिले पनि आफ्नो स्वार्थ शिद्ध गर्न भरपूर प्रयास गर्ने छन् । (पहिलो सम्भावना जति कमजोर छ, यो सम्भावना त्यति नै बलियो छ )

ओली र भट्टराईवीच हुन लागेको यो महाभारतका सम्भावित चार परिणाम यिनै हुने छन् । यो महाभारतबाट जनतालाई कुनै फाइदा हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?