Comments Add Comment

भुटानको पर्यटनबाट नेपालले के सिक्ने ?

नविन अर्याल

२७ माघ, बुमथाङ (भुटान) । ‘कन्ट्रोल टुरिज्म’ को नीति लिएको भुटानले पर्यटनमा दक्षिण एशियामै फड्को मार्न थालेको छ । भुटानको समग्र अर्थतन्त्रमा जलविद्युतपछि सबैभन्दा ठूलो योगदान पर्यटनको छ ।

सीमित स्रोत साधनबीच पनि राम्रो योजना बनाएर अगाडि बढेका कारण भुटानले पर्यटन क्षेत्रमा राम्रो सफलता हासिल गरेको हो ।

SHERATON-KATHMANDU_FRONT-FACE-Final-2-jpg
होटल सेराटनको स्केच

पर्यटकीय सम्भावनाका हिसावले भुटानभन्दा नेपाल धेरै गुणा अगाडि रहे पनि नेपाली अर्थतन्त्रमा पर्यटनको योगदान नगन्य छ ।

भुटानले आफ्नो मुलुकभित्र गुणस्तरीय पर्यटक भित्राउन ‘कन्ट्रोल टुरिज्म’ को नीति अपनाएको छ । यो नीति अनुसार भुटान भ्रमण गर्न आउने विदेशी पर्यटकले सिजनमा दैनिक २ सय ५० डलर र अफसिजनमा दैनिक दुई सय डलर खर्च गर्नैपर्ने हुन्छ । सकारले बनाएको यस्तो नीतिका कारण पर्यटकबाट देशलाई राम्रो आम्दानी हुने गरेको छ ।

‘मास टुरिज्म’ अवधारणा अपनाएको नेपालमा भने कम खर्चालु पर्यटकहरु भित्रिने गरेको रिपोर्टहरुले देखाइरहेको छ । विश्वकै सबैभन्दा धनाढ्य पर्यटक भित्राउन सकिने भए पनि नेपालमा सरकार र निजी क्षेत्रबीच समन्वय गरेर काम गर्न नसक्दा यसबाट चुकिरहेको तीतो अवस्था छ ।

भुटान करिब ७ लाख जनसंख्या भएको सानो मुलुक हो । यहाँका अधिकांश जनता बुद्ध धर्म मान्छन् । यहाँको पर्यटन पनि बुद्धिष्ट संस्कृति र बुद्ध गुम्बाहरुमा आधारित छ । साहसिक पर्यटनको भुटानमा सीमित सम्भाव्यता छ ।

भुटान पर्यटन विकास परिषदकी निर्देशक छिम्मी पेमका अनुसार सन् २०१४ मा एक लाख ३१ हजार पर्यटकले भुटान भ्रमण गरेका छन् ।

भुटानको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १७ प्रतिशत रहेको छ । नेपालमा भने पर्यटन क्षेत्रको योगदान जीडीपीमा साढे २ प्रतिशतको हाराहारीमा रहेको छ । नेपालले योजना बनाएर अगाडि बढ्न नसक्दा प्रशस्त सम्भावना हुँदाहुँदै पनि पर्यटनमा अपेक्षित विकास गर्न नसकेको सांगि्रला होटलका कार्यकारी निर्देशक प्रवीणबहादुर पाण्डे बताउँछन् ।

‘नेपाली व्यवसायी मूल्य घटाघटमा प्याकेज बिक्री गर्छन्, व्यवसायीहरुमा प्राइस वार चल्ने गर्छ’ पाटा सम्मेलनमा भुटान आएका पाण्डेले अनलाइनखबरसँग भने- ‘भुटानले खर्च गर्न नसक्ने पर्यटकलाई प्रवेश नै दिँदैन ।’

पर्यटकीय प्रोडक्ट घटाघटमा बिक्री गरेर पर्यटन विकास गर्न नसकिने उनको भनाइ छ । पर्यटन क्षेत्रबाट लाभ लिनका लागि सेवाको गुणस्तर वृद्धि गरेर प्याकेज महंगोमा बिक्री गर्नुपर्ने हुन्छ । ‘भुटानमा सीमित पर्यटकीय गतिविधि हुँदा पनि पर्यटकहरु चर्को रकम खर्चेर भ्रमणमा आउँछन्, तर, नेपालमा किन आउँदैनन् ?’ पाण्डेले भने, ‘भुटानले प्याकेज घटेर बिक्री गर्दैन, इच्छा लाग्ने मानिस घुम्न आउँछन्, नसक्ने आउँदैनन् ।’

पर्यटकीय क्षेत्रमा नेपालसँग सम्पूर्ण विश्वलाई ध्यानाकषिर्त गराउने क्षमता छ । सांस्कृतिक, धार्मिक, साहसिक, वाइल्डलाइफ लगायतमा रुची राख्नेहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे बताउँछन् ।

भुटानको पर्यटन विकासमा सरकार अगाडि देखिन्छ, नेपालमा निजी क्षेत्र देखिन्छ । पर्यटन क्षेत्रबाट ठूलो लाभ लिन सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।

पर्यटन विकासका लागि जसरी राजनीतिक स्थिरता आवश्यक हुन्छ, त्यसरी नै मूल्यमा पनि स्थिरता हुनुपर्ने हो । नेपालमा न त राजनीतिक स्थिरता छ, न त मूल्यमा नै स्थिरता ।

भुटानका होटलको अकुपेन्सी रेट २७ प्रतिशत रहेको छ । यिनीहरु कहिल्लै आफ्नो ब्रान्ड भेलु घटाएर रुमहरु बिक्री गर्दैनन् । नेपालमा सिजनमा ४/५ डलरसम्म बिक्री गरिने पाँचतारे होटलका रुमहरु अफसिजनमा ४०/५० डलसम्म घटाएर बिक्री गर्ने गरेको पाइन्छ ।

पर्यटकीय गतिविधि प्रशस्त भएपछि आकर्षक प्याकेज बनाएर पर्यटकलाई बढीभन्दा बढी मूल्यमा बिक्री गर्न सकेमा यसबाट लाभान्वित हुन सकिने पर्यटन बोर्डका प्रबन्धक लक्ष्मण गौतमको भनाइ छ । उनी भन्छन्- साइकलमा हिँडेर सडकमा चटपटे खाने पर्यटक भित्राएर मात्र पर्यटनबाट राम्रो आम्दानी गर्न सकिँदैन ।

थिम्पु
थिम्पु

विदेशी ‘चेन’को आकर्षण

भुटानमा पर्यटनले गति लिन थालेपछि होटलमा विदेशी चेनको आकर्षण देखिएको छ । अधिकांश लक्जरी होटलमा अन्तर्राष्ट्रिय होटल ब्रान्ड आवद्ध छन् ।

भुटानका दशवटा उत्कृष्ट होटलमध्ये ९ वटा होटलमा विदेशी ब्रान्ड रहेको भुटान नोर्बु ट्राभलका व्यवसायी बताउँछन् ।

त्यस्तै प्रख्यात ब्रान्ड अमनकोराले भुटानका विभिन्न पर्यटकीय गन्तव्यमा पाँचवटा लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको छ । यी होटलमा बस्नका लागि पर्यटकले एक दिनको १५ सय डलर तिर्नुपर्छ ।

सुमन पाण्डेका अनुसार नेपालमा पाँचतारे होटलहरु नै गुणस्तर कायम गर्नबाट चुकिरहेका छन् । कतिपय बेलामा नेपाली पाँचतारे होटलले ३०/४० डलरमा पनि रुम बिक्री गर्ने गरेको पाण्डेले दाबी गरे ।

चेनले गुणस्तर बढाउने ‘दाबी’

अन्तर्राष्ट्रिय ख्याती कमाएका चेन ब्रान्डहरु ताज, लि मेरिडियन, अमनकोरा लगायतले भुटानमा होटल चलाइरहेका छन् । आफुहरुले पर्यटकलाई उपलब्ध गराउने सेवाको गुणस्तर र मूल्यमा कुनै सम्झौता नगर्ने अमनकोराको थिम्पु लजकी एसिष्टेन्ट म्यानेजर योशी कुबोटा बताउँछिन् ।

नेपालमा पनि पछिल्लो समय प्रख्यात अन्तर्राष्ट्रिय चेनहरु भित्रिन थालेका छन् । विश्वभर ठूलो सञ्जाल भएका चेनहरु नेपाल आएपछि नेपालको पर्यटनमा कायापलट हुने अपेक्षा गरिएको छ ।

आफ्नो विश्वभर भएको सञ्जाल प्रयोग गरेर विदेशी चेन होटलहरुले गुणस्तरीय पर्यटक नेपालमा भित्राउन पहल गर्ने केही दिन अगाडि अनलाइनखबरसँगको कुराकानीमा पर्यटनविद प्रचण्डमान श्रेष्ठले बताएका थिए । चेन होटलहरुले आफ्नो अन्तर्राष्ट्रिय ख्याती जोगाउन पनि रुम तथा सेवाहरु मूल्य घटाएर बिक्री नगर्ने उनको विश्वास छ ।

नेपालमा पाँचतारे होटलदेखि मझौला होटलसम्मले विदेशी ब्राण्ड तथा चेन होटलहरु भित्राउन थालेका छन् । कतिपय ब्रान्डले आफै होटल खोल्न लागेका छन्  । विदेशी ब्राण्डको नामबाट पर्यटक तान्न सहज हुने विश्वास व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment