Comments Add Comment

स्वाइनफ्लूको सन्त्रास : प्रमुख ५ नाकामा स्वास्थ्य जाँच

११ फागुन, काठमाडौं । स्वाइन फ्लूको संक्रमण फैलिँदै गएपछि सरकारले भारतसँग जोडिएका नेपालका सीमा नाकामा रोग परीक्षणको काम सुरु गर्दै छ । यो काम एक हप्ताभित्रै सुरु हुने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

symptoms of Swinflueमहाशाखाका प्रमुख डा. बाबुराम मरासिनीका अनुसार झापाको काकडभिट्टा, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज र कन्चनपुरको गड्डाचौकी नाकामा रोग परीक्षणको व्यवस्था मिलाइने छ । ‘अहिले सामान्य सोधपुछ मात्रै भैरहेको छ, अब संक्रमण छ की छैन भनेर परीक्षण नै गर्छौं,’ मरासिनीले भने ।

नेपाल र भारत आवत-जावत गर्ने साना ठूला गरी ८ दर्जन भन्दा धेरै नाका छन् । पैदल नाका तथा विमानस्थलहरुबाट सजिलै मानिसहरुको आवत-जावत हुन्छ । तर ति नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा भारतमा महामारीको रुप लिइसकेको स्वाइनफ्लू नेपालमा पनि भित्रिएर जोखिम बढ्ने चिन्ता व्यक्त भैरहेको छ ।

हालसम्म नेपालमा ५ जना एच वान एन वान भाइरस संक्रमित चिकित्सकको सम्पर्कमा आएका छन् । २ जना काठमाडौं निवासी हुन् । २ जना पोखराका र १ जना चितवनका बासिन्दामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट नेपाल आएकाहरु हुन् । उनीहरुलाई उनीहरुकै घरमा राखेर चिकित्सकको निगरानीमा उपचार गरिरहेको डा. मरासिनीले जानकारी दिए ।

भारतमा स्वाइनफ्लूको कारण साढे ६ सय जना भन्दा धेरैको मृत्यु भैसकेको छ भने १० हजार भन्दा धेरै संक्रमित छन् ।

सीमा जोडिएको छिमेकी मुलुक भारतमा स्वाइनफ्लूको महामारी फैलिँदै गएकोले नेपालमा जोखिम उच्च तर सुरक्षा सतर्कता फितलो छ । सीमा नाकाबाट नेपाली र भारतीय नागरिकको आवत जावत भैराख्ने हुँदा कुनै पनि बेला स्वाइनफ्लूको महामारी नेपालमा पनि फैलिन सक्ने सरोकारवाला बताउँछन् ।

स्वाइनफ्लू लागेमा रुघाजस्तै लक्षण देखिन्छ । नाक बन्द हुने, पातलो सिगान बगिरहने, हाच्छ्यू आउने, खोकी लाग्ने, थकाई महसुस हुने, खान मन नलाग्ने यसका प्रारम्भिक लक्षण हुन् । यसका साथै कडा ज्वरो आउने, टाउको दुख्ने, झाडा पखाला लाग्ने पनि हुन्छ । त्यसैले रुघा खोकी वा यस्तै कुनै लक्षण देखिए सामान्यरुपमा नलिइ स्वास्थ्य जाँच गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment