+
+

नुवाकोटको सिसडोलमा फोहोर फाल्न अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते १२:१०

११ फागुन, नुवाकोट । राजनीतिक दलका प्रतिनिधिको समितिलाई फोहोर व्यवस्थापनको जिम्मा दिनुपर्ने माग गर्दै नुवाकोट ओखरपौवाका बासिन्दाले काठमाडौंको फोहर बिसर्जनमा अवरोध पुर्‍याएका छन् ।

kathmandu ko fohor
बिभिन्न माग राख्दै हुने अवरोधले काठमाडौंका सडकमा यसरी नै फोहोरको डुंगुर थुप्रिने गरेको छ । फाइल तस्वीर

नेपाली काँग्रेस, नेकपा एमाले लगायत राजनीतिक दलहरुको सरोकार समितिको अवरोधका कारण सोमबार बिहानबाट सिसडोलमा फोहोर बिसर्जनमा समस्या भएको छ । काठमाडौंबाट फोहोर बोकेर सिसडोल गएका गाडीहरुलाई स्थानीयले बिच बाटोबाटै फर्काइदिएका छन् ।

नुवाकोटको ओखरपौवा गाविस ४ सिसडोलमा दैनिक साना ठूला १ सय ५६ गाडी फोहोर बिसर्जन गरिन्छ ।

पाँच सूत्रीय माग

राजनीतिक दलका स्थानीय नेताहरुले पाँच सूत्रीय माग राखेर फोहोर फाल्न अवरोध गरेका हुन् । उनीहरुले अर्जुन न्यौपाने संयोजक र जितबहादुर बलामी सहसंयोजक रहेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको समितिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने माग राखेका छन् ।

‘तीन वर्षका लागि मात्रै सिसडोलमा फोहोर फाल्ने भनिएकोमा सात वर्ष बितिसक्यो । विगतका सहमति पनि कार्यान्वयन भएन । त्यही भएर अवरोध गरेका हौं,’ एमालेका स्थानीय नेता बलामीले भने ।

यसअघि काठमाडौं महानगरपालिकाले सिसडोलमा तीन बर्षभित्र फोहोर फाल्न बन्द गर्ने र बन्चरेमा डम्पिङ साइट बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको स्थानीयको आरोप छ । सिसडोल भन्दा एक किलोमिटर तल बञ्चरेमा डम्पिङ साइट बनाइएमा बिसौं वर्षसम्म फोहोर फाल्न सकिने महानगरपालिकाको भनाइ छ ।

अनुदानमा आँखा

उनीहरुको समितिले ओखरपौवा र धादिङको छत्रेदेउराली गाविसको विकास निर्माणको अनुदान रकम दोब्बर बढाउनुपर्ने माग समेत गरेको छ ।

काठमाडौं महानगरपालिकाले हाल एक करोड रुपैयाँ अनुदान दिँदै आएको छ । त्यसलाई बढाएर २ करोड पुर्‍याउनु पर्ने स्थानीयको माग छ ।

विगतमा सरकारका मुख्यसचिवसँग ओखरपौवाको दुई माविलाई उच्चमावि बनाउने र ग्रामीण बाटो कालोपत्रे गर्नेलगायतका माग पनि सरोकार समितिले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?