Comments Add Comment

कांग्रेस बैठकमा सहमतीय सरकारको माग

Nepali-Crongrss

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सहमतीय सरकार गठनको माग उठेको छ । साथै उनीहरुले एमाओवादी र मधेसी मोर्चासँग संविधानका विवादित विषयमा सहमतिका लागि संघीयतामा लचिलो हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरुले सहमतिको सरकार बनाएर अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका हुन् ।

बैठकमा बालकृष्ण खाँड, मीन विश्वकर्मा, गगन थापा, सुरेन्द्र पाण्डे, कमल पान्त लगायतका नेताहरुले सहमतिको सरकार गठनमा जोड दिएका हुन् । त्यसका लागि एमालेलाई विश्वासमा लिनु पर्ने उनीहरुको सुझाव छ । ‘सहमतिको सरकार बनाएर वा माओवादी र मधेसी मोर्चालाई विश्वासमा लिएर मात्र संविधान बनाउन सकिन्छ’-केन्द्रीय सदस्य विश्वकर्माले अनलाइनखबरसँग भने ।

राष्ट्रिय सहमतिको सरकार बनाउँदा सहमति हुन्छ भने त्यसका लागि तयार हुनुपर्ने सुझाव आएको केन्द्रीय सदस्य जीवनबहादुर साहीले बताए ।

सात प्रदेशमा लचिलो हुन सुझाव

बैठकमा गगन थापाले सहमतिका लागि गीन एण्ड टेक गर्दा कांग्रेस पनि लचिलो हुनु पर्ने बताए । ‘माओवादीले छाड्न अब केही बाँकी छैन । मिल्न बाँकी अब संघीयता मात्र हो’ थापाले भने-‘हामीले सात प्रदेशको नक्सामा एक इन्च पनि तलमाथि हुनु हुँदैन भनेर सहमति गर भन्नु भनेको सभापतिको हात बाँध्नु जस्तै हो ।’

उनले पाँच जिला विवादमा जिल्ला विभाजन गर्ने, केन्द्रीय शासित प्रदेश बनाउनेसहितका सबै विकल्पमा खुला रहनुपर्ने बताएका छन् ।

बैठकमा जीवनबहादुर शाहीसहितका नेताहरुले भने सहमतिबाटै संविधान बनाउनु पर्ने तर, सहमतिका नाममा सँधै अल्झिरहन नहुने बताएका छन् ।

यो पनि पढ्नुस् 

कांग्रेसमा सुजाता कोइरालाको कारवाही फुकुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment