- ब्याटिङमा समिउल्लाह सेनवारी । तस्वीर : एएफपी
१४ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा स्कटल्याण्डविरुद्ध रोमान्चक जित हात पार्दै अफगानिस्तानले नयाँ इतिहास रचेको छ ।
डेब्यू विश्वकपमा पहिलो जित हात पार्ने क्रममा एसोसिएसट नेसन अफगानिस्तानले बिहीबार शमिउल्लाह सेनवारीको उत्कृष्ट ब्याटिङको मदतमा अर्को एसोसिएसट नेसन स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको छ ।
तेस्रो पटक विश्वकप खेलिरहेको स्कटल्याण्डले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।
स्कटल्याण्डले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य अफगानिस्तानले ३ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानकेा जित सेनवारी नायक बने ।
अन्तिम ओभरमा सपुर जद्रानले चौका हान्दै जित दिलाए । चार बलमा चार रन चाहिएको अवस्थामा उनले चौका अन्तिम ओभरको तेस्रो बलमा चौका हान्दै जित दिलाए ।
उनी १२ रनमा नटआउट रहे । अफगानिस्तानको सुरुवात भने राम्रो थिएन । ४२ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानले ९७ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो ।
तर, समिउल्लाह सेनवारीले टिकेर मात्र खेलेनन्, ९६ रन बनाउँदै जितको आधार तयार पारे । आठौं विकेटका लागि दौलत जादरानसँग ३५ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि हमिद हसनसँग ६० रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
अफगानलाई २८ बलमा ३८ रन चाहिएको बेला सेनवारीले ४७ औं ओभरमा सुरुवाति तीन बलमा लगातार छक्का हाने । चौथो बलमा भने उनी आउट भए ।
उनले १४७ बलमा ७ चौका र ५ छक्काको मदतमा ९६ रन बनाए । जाभेद अहमदीले ५१ रन जोडे । बलिङतर्फ बेरिङटनले ४ विकेट लिए । डेभी र इभान्सले २-२ तथा हकले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१० रन बनाएको थियो ।
स्कटल्याण्डको पनि सुरुवात राम्रो थिएन । ४० रन जोड्दा ३ विकेट गुमाएको स्कटल्याण्डका माट मचान र पि्रस्टन मोसेन्सनले ५३ रनको साझेदारी गरे । तर, मचान र मोसेन्सनको साझेदारी टुटेपछि स्केटल्याण्डको विकेट झर्ने क्रम रोकिएन ।
तर, नवौं विकेटका लागि मजिद हक र इभनले ६२ रनको साझेदारी गरेपछि स्कटल्याण्डले सम्मानजकन स्कोर बनायो । हक र मचानले समान ३१/३१ रन बनाए भने इभनले २८ र कायर कोएटजरले २८ रनको योगदान दिए ।
अफगानिस्तानका शापुर जदरानले ४ विकेट लिए । दौलत जदरानले ३ विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया 4