Comments Add Comment

कराँची जेलबाट छुटेका मीनबहादुर घर फर्किए

१४ फागुन, काठमाडौं । पाकिस्तानको कराँची जेलमा ३० महिना थुनिएर रिहा भएका गुल्मीका मीनबहादुर सर्तुङ्गे मगर विहीबार स्वदेश फर्किएका छन् ।

पाकिस्तानको सिन्ध र भारतको गुजरातको बीच समुद्री किनारमा माछा मार्ने माझीहरुसँगै उनी पक्राउ परेका थिए । उनी माछाका भारी जहाजमा लोड-अनलोडको काम गर्दथे ।

प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेका अनुसार उनी थाई एयरवेजबाट विहीबार दिउँसो नेपाल आइपुगेका हुन् । उनी समितिकै सहयोगमा घर फर्कँदै छन् ।

उनलाई पाकिस्तानस्थित नेपाली दुतावासले छुटाउन पहल गरेको थियो । माझीहरुको भरीया काममा लागेकोबेला पक्राउ परेकाले उनले नियतवस गल्ती नगरेको ठहर गर्दै पाकिस्तान सरकारले रिहा गरेको हो ।

‘अन्तर्राष्ट्रिय कानूनमा समेत सिमाक्षेत्र उल्लंघनलाई गम्भीर अपराध मानिन्छ । यस्तो अभियोगमा आजीवन कारावासको सजाय हुन्छ । तर, उनी रिहा हुन सफल भएका छन्, उनीसँग घर जाने खर्च पनि छैन, हामीले सहयोग जुटाउँदै छौं,’ प्रवासी नेपाली समन्वय समितिका महासचिव लामिछानेले भने ।

नागरिकता, पासपोर्ट वा परिचय खुल्ने केही पनि कागजपत्र नरहेको अवस्थामा उनी पक्राउ परेका थिए । उनलाई पाकिस्तानमा काम गर्दा ‘पम्फा’ नामले बोलाउने गरिन्थ्यो । उनी पक्राउ परेका कागजात र सबै रेकर्डमा ‘पम्फा’ नाम उल्लेख छ । उनका २ नाबालक छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment