Comments Add Comment

एमाओवादी कार्यकर्ताले भरिए काठमाडौंका रुकुमे होटल

१५ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीले खुलामञ्चको सभाका लागि टाढाका जिल्लाहरुबाट ल्याएका कार्यकर्ताहरुलाई नयाँ बसपार्क र सुन्धाराका होटलमा बसालेको छ । ती होटलहरुमा दुई हजारभन्दा धेरै कार्यकर्ता बसेका छन् ।

खाने खर्च आफ्नै, सुत्न निःशुल्क

सभामा सहभागी हुन कतिपय कार्यकर्ताहरु शुक्रबार बिहानै काठमाडौं भित्रिसकेका छन् । रुकुमको झण्डै ५ सय जनाको टोली विहीबार नाइट बस चढेर शुक्रबार बिहानै काठमाडौं आइपुगेको छ ।

रुकुमका कार्यकर्ताहरुलाई रुकुमेलीले चलाएका होटलहरुमा राखिएको छ । ती होटल सञ्चालकसँग कार्यकर्ताहरुले खाना खाएको पैसा तिर्ने तर, सुतेको नतिर्ने गरी मौखिक सहमति गरिएको बुझिएको छ ।

एमाओवादी प्रभावशाली नेता तथा रुकुमका सभासद जनार्दन शर्मा प्रभाकरले गरेको यो आग्रहलाई होटल सञ्चालकहरुले नाई भन्न नसकेको स्रोतले बतायो ।

घाटाको व्यापार

तर, यसरी बसाल्नुपर्दा होटल सञ्चालकहरु खुसी भने छैनन् । नयाँ बसपार्क क्षेत्रका एक होटल सञ्चालकले भने, ‘अरु मान्छे बसाल्दा खाना खाएको, सुतेको सबै जोडेर पैसा लिइन्थ्यो, एमाओवादी कार्यकर्ताहरुसँग खानाको पैसा मात्रै लिन भनिएको छ, त्यो पैसा पनि पाइने हो कि होइन, ठेगान छैन ।’

नयाँबसपार्क क्षेत्रका सामान्यखालका होटलमा खाने बस्ने गरी एउटा कोठाको ५ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । तर, माओवादी कार्यकर्ताहरुले सबै कोठा भरिएपछि अरु मान्छे राख्न नपाउँदा घाटामा व्यवसाय चलाउनुपरेको गुनासो गर्छन् होटलवालाहरु ।

शुक्रबार साँझ र शनिबार बिहानको खाना खुवाएर बसाल्न होटल सञ्चालकहरुलाई एमाओवादी नेताहरुले भनेका छन् ।

दाङबाट एक हजार तिरेर काठमाडौं

दाङका करिब ५ सय कार्यकर्ताहरु व्यक्तिगत खर्चमा जनसभामा सहभागी हुन काठमाडौं आउँदैछन् ।

जनही एक हजार रुपैयाँको दरले पैसा उठाएर पार्टीले सरकार विरुद्ध थालेको आन्दोलनमा साथ दिन दाङका एमाओवादी कार्यकर्ताहरु काठमाडौं आएका हुन् । उनीहरुले १० वटा बस रिजर्भ गरेका छन् ।

संविधान निर्माणमा सत्तापक्ष बहुमतको आडमा अगाडि बढेकाले खारेजीको माग गर्दै पार्टीले गरेको आन्दोलनमा आफूहरु सहभागी भएको एमाओवादी दाङका अध्यक्ष कुबेर ओलीले अनलाइनखबरलाई बताए ।

आन्दोलनका लागि कुनै लाठीहरु नल्याएको एमाओवादी दाङका उपाध्यक्ष निर्मल आचार्यले बताए । ‘यसबारे केन्द्रको कुनै निर्देशन छैन, कार्यकर्ताहरु मात्रै उतार्ने कुरा छ,’ आचार्यले भने, ‘भाटा चाहिए त काठमाडौंमै तयार हुन्छ ।’

यसैवीच नेपालगञ्जबाट १२ वटा बसमा एमाओवादी कार्यकर्ता राजधानी आउन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment