विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा जिम्बावेविरुद्ध २० रनको रोमान्तक जित हात पार्दै पाकिस्तानले सुपर एट प्रवेशको आश कायमै राखेको हो ।
पाकिस्तानले सुरुवाती दुई खेल गुमाएको थियो भने जिम्बावेको चार खेलमा तेस्रो हार हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानलले ५० ओभरमा ७ विकेट गुमाएर २३५ रन बनायो । पाकिस्तानको सुरुवात भने फेरि राम्रो हुन सकेन ।
४ रन जोड्दा दुबै ओपनरलाई गुमाएको पाकिस्तानका हरिस सोहिल र मिस्बाह उलहकले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे । सोहिल २७ रनमा आउट भए ।
मिस्बाहले चौथो विकेटका लागि उमर अकमलसँग ६९ रनको साझेदारी गरे । अकमल ३३ मा आउट भए । थप रन नजोड्दा नै साहिद अफि्रदी शून्यमा आउट भए । तर, मिस्बाह क्रिजमा टिकिरहे ।
उनले वहाब रिहाजसँगै सातौं विकेटका लागि ४७ रनको साझेदारी गरे । मिस्बाह ७३ रनमा आउट भए । आठौं विकेटका लागि सोहिल खानसँग ३३ रनको अविजित साझेदारी गरेका वहाब ५४ रनमा अविजित रहे ।
जिम्बावेका तेन्दई चतराले ३ विकेट लिए भने शेन विलियम्सले २ विकेट आफ्नो नाममा लेखाए ।
इर्फान र रिहाजको ४ विकेट
जवाफमा जिम्बावेले अन्तिम २ बल खेल्नु अघि सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो ।
जवाफमा जिम्बोवेले सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो । २२ रन जोड्दा दुबै ओपनरलाई गुमाएको जिम्बावेका मध्यक्रमका ब्याट्सम्यानहरुले पारी सम्हाल्ने प्रयास गरे ।
ब्रेण्डन टेलरले ५० रन बनाए । शेन विलियम्सले ३३ रनको योगदान दिए । १६८ रन बनाउँदा ८ विकेट गुमाएको जिम्बावेका चिगम्बराले पानियांरासँग ४७ रनको साझेदारी गर्दै जितको आश देखाए ।
तर, अन्तिम ओभरको तेस्रो बलमा वहाब रिहाज पानियांराको विकेट लिए । लगतै अर्को बलमा चिगम्बरालाई ३५ रनमा आउट पार्दै रिहाजले पाकिस्तानलाई पहिलो जित दिलाए ।
मोहम्मद इर्फान र रिहाजले समान ४/४ विकेट लिए ।