२१ फागुन, काठमाडौं । काठमाडौंदेखि भारतको बनारससम्म का लागि विहीबारबाट सिधा बस सेवा शुरु भएको छ । विहान साढे ८ बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि र नेपालका लागि भारतीय राजदूत रञ्जिते रेले संयुक्त रुपमा सेतो झण्डा फहराएर मैत्री बससेवा उदघाटन गरे ।
उदघाटन कार्यक्रममा सहभागीहरुले नेपाल र भारतको राष्ट्रिय झण्डा हातमा लिएका थिए ।
भाडा २ हजार १४४ रुपैयाँ
आज काठमाडौंबाट २२ जना यात्रु लिएर बनारसका लागि बस छुटेको छ । काठमाडौंबाट बनारसका लागि दुई हजार १४४ रुपैयाँ भाडा तोकिएको छ । भैरहवाको सुनौली नाका हुँदै बस भारत प्रवेश गर्नेछ । काठमाडौंबाट १६ घण्टामा बनारस पुगिने छ ।
बनारस जाने बसको टिकट काउन्टर हाल गोंगबु नयाँबसपार्कमा छ । टिकट काउन्टर बिस्तार गर्दै लगिने बस सेवा सन्चालनको जिम्मा पाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले अब पोखरा-दिल्ली, लुम्विनी-बोधगया, धनुषा-अयोध्या र काठमाडौं-पटनामा पनि बस सेवा सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिए ।
यसअघि गत मंसिर ९ गते काठमाडौं-दिल्ली सिधा बस सेवा सुरु भएको थियो । १८ औं सार्क शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं-दिल्ली बस सेवा उदघाटन गरेका थिए । काठमाडौंबाट दिल्ली जाने बसको टिकट काउन्टर स्वयम्भूमा छ ।
काठमाडौं-बनारस बस सेवा उदघाटनका केही तस्वीरहरू हेर्नुहोस्