+
+

जाजरकोटका विरामीमा स्वाइन फ्लूको संक्रमण देखियो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते १७:४७

१ वैशाख, काठमाडौं । जाजरकोटमा महामारीका रुपमा फैलिएको अज्ञात रोगका विरामीहरुमा स्वाइन फ्लूको संक्रमण देखिएको छ ।

विरामी मध्ये १२ जनाको र्‍याल परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । जसमध्ये तीन जनामा स्वाइन फ्लू पाइएको स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए । मरासिनीले भने-‘अरुको रिपोर्ट आउन बाँकी छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार जाजरकोटमा फ्लू फैलिएको आशंका गरिएको छ । हालै मात्र डाक्टरहरुको टोली जाँदा ३०० ट्याब्लेट टामी फ्लू औषधी लगिएको थियो । यो स्वाइन फ्लूसहितका फ्लूहरुका विरामीलाई दिइन्छ ।

जाजरकोटमा पैक, अर्छानी नायकबडा गाविसमा दुई सातादेखि फैलिएको महामारीका कारण १६ जनाको मृत्यु भइसकेको छ । सोमबार र मंगलबार गरी ४ जनाको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतका अनुसार टालेगाउँमा सोमबार एक र मंगलबार विहान ३ जनाको मृत्यु भएको खबर आएको छ ।

एसएलसी दिएर फर्किएकी अर्छानी गाविसकी सुस्मिता जैसीको मृत्यु भएपछि महामारी सुरु भएको थियो । त्यसपछि सकला, नायकवाडा, पैक, पजारू र टालेगाउँमा संक्रमण फैलिएको पाइएको छ । पछिल्लोपटक  संक्रमण फैलिएको टालेगाउँ जुम्लाको सिमानामा पर्छ ।

अधिकांश बिरामीमा रुघाकोखी लाग्ने, बान्ता हुने, टाउको दुख्ने सहितका समस्या देखिएको छ । बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको स्वास्थ्यचौकी टालेगाउँका प्रमुख प्रेमा लामाले बताए ।

‘स्वास्थ्यकर्मीसहितको टोली टालेगाउँतर्फ गएको छ । तर, पैदल जानु पर्ने भएकाले भोलि मात्र पुग्नेछ । ‘केही गाउँमा ठिक भएका छन् । केही नयाँ गाविसमा देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । बस्नेतका अनुसार काठमाडौं गएको टोलीले टामी फ्लू नामक औषधी दिएको छ ।

छिमेकी जिल्ला जोखिममा

जाजरकोटमा स्वाइनफ्लु पुष्टि भएपछि त्यस वरपरका जिल्लामा पनि जोखिम बढेको छ । रुकुम, जुम्ला, सुर्खेत लगायतका जिल्लामा पनि सतर्कता अपनाउनु पर्ने देखिएको छ ।

‘रुकुमको चौरजहाजरीमा अहिले स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन सुरु गरिसकिएको छ, बााकेको कोहलपुरबाट पनि टोली ल्याउने सोचाइ छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले अनलाइनखबरसँग भने, ‘ठूलो जिम्मेवारी र चुनौति आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?