Comments Add Comment

जातेवासीको जाँगर : विकासका लागि सबै एकजुट

Jate-VDC-Morang

ध्रुव भट्टराई

४ वैशाख, मोरङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीखण्डबाट २ किलोमिटर उत्तर लागेपछि जाते गाविस सुरु हुन्छ । समुद्र सतहबाट १ सय ४० मिटरदेखि १ हजार ३ सय ५० मिटरको महाभारत पहाडसम्म फैलिएको जातेमा कृषि र पर्यटनको प्रचुर संभावना छ । जरे सिमी, गोलभेडा, अदुवा, अम्रिसो, केराखेती, मौरीपालन, कागती खेतीका लागि जातेले ख्याती कमाएको छ । तर यो सुन्दर गाविस विकासबाट भने ठगिएको छ ।

पर्यटन पूर्वाधारको प्रशस्त सम्भावना भएपनि प्रचार प्रसारका कारण ओझेलमा परेको भन्दै स्थानीयवासी नमुना गाउँ बनाउन कस्सिएका हुन् । स्थानीय राजनीतिक दल, नागरिक समाज, सामुदायिक बनका पदाधिकारी र बिभिन्न संघसंस्थाहरुले विकासका लागि संगठित रुपमा आवाज उठाउने घोषणा गरेका छन् ।

उनीहरु मिलेर जाते चिनारी तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेका छन् । समितिले जातेको चिनारीका लागि समग्र गतिविधि र विवरण समेटिएको वृत्तचित्र बनाउने तयारी पनि गरेको छ ।

छिमेकी गाविस लेटाङ र जातेलाई मिलाएर नगरपालिका बनाउने विषयमा कुरा नमिलेपछि जातेबासीले आफ्नो गाउँलाई नमूना बनाउन पहल थालेको जाते चिनारी तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक इन्द्र ढकालले बताए ।

लेटाङ र भोगटेनीलाई मिलाएर ‘लेटाङ भोगटेनी’ नगरपालिका घोषणा भइसकेको छ । ७० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको जातेको करिब ९० प्रतिशत भूभाग बन तथा नदी बगरले ढाकेको छ । ११ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७ सय ४५ हेक्टरमा मात्र सिंचाइ सुविधा उपलब्ध छ । यो गाविस हुँदै तेली, सोल्टी, मोरंगी, भुवा र मुगु खोला बग्ने गरेका छन । ती नदीको पानीलाई सदुपयोग गर्न सके जाते मात्र होइन आसपासका क्षेत्रमा खानेपानी, सिंचाइ र विद्युतिकरणको सुविधा उपलब्ध हुनसक्ने स्थानीको भनाइ छ ।

गाविसका पूर्व अध्यक्ष उपेन्द्र घिमिरेका अनुसार जातेबाट वार्षिक २ करोड रुपैयाँ बराबरको जरे सिमी अन्यत्र निकासी हुने गरेको छ । तर सिंचाइको पर्याप्त व्यवस्था नहुदा हिउँदको बेला किसानहरुले चाहेकोबेला सिचाइँ गर्न पाउँदैनन् । बाटोघाटो, विजुली, सिचाइँ, खानेपानी, नदी नियन्त्रण, बन संरक्षण, शिक्षा र स्वास्थ्यमा निकै पछाडि परेको भन्दै स्थानियले तत्काल बृहत्तर गुरुयोजना बनाउनुपर्नेे माग गरेका छन् ।

स्थानीय खोलाबाट ल्याएको पैनीलाई हरेक वर्षातको समयमा बाढीले बगाउने समस्या भएकाले सरकारले भरपर्दो व्यवस्थाका लागि बजेट विनियोजन गनुपर्ने घिमिरे बताउँछन् । गाविस सचिव सूर्यबहादुर महतारा गाविसको बजेट सिमित भएकाले केन्द्रीय स्तरबाटै बजेटका लागि पहल हुनुपर्ने बताउँछन ।

गाउँको विकासका लागि स्थानीय राजनीतिक नेतृत्वले पनि चासो राखेका छन् । मोरङको ९ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यमा विजयी सभासद डिकबहादुर लिम्बु पथरी जाते सडकको कालोपत्रे, जातेलाई लेटाङसँग जोड्न मोरंगीखोलामा पक्की पुल र तेलीखोलामा झोलुंगे पुल निर्माणका लागि पहल भैरहेको बताउँछन् । ‘मोरंगी खोलामा पक्की पुल बनाउन सर्भे गरी डिजाइनको काम भैरहेको छ,’ लिम्बुले भने ।

नेपाली कांग्रेका महासमिति सदस्य इन्द्र मावुहांग लिम्बु, नन्दिकेशर खतिवडा, एमालेका सोमनाथ निरौला, एमाओवादीका देविप्रसाद भटराई, नेकपा माओवादीका हस्तबहादुर राई लगायत अन्य राजनितिक दलका स्थानिय नेताहरु पनि जातेको विकासमा एकमत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment