Comments Add Comment

पोहोर हजार पर्ने जुत्ता र लुगाको मुल्य अहिले एघार सय रुपैयाँ

Luga५ वैशाख काठमाडौं । पाहोर त हजारमा किनेको अहिले पनि पाइहालिन्छ नि भनेर हजार रुपैयाँमात्रै बोकेर बजार जानुभयो भने तपाई रित्तै फर्किनुपर्ने हुन्छ । कि त पोहोरको जस्तै नकिनेर अर्कै लुगा वा जुत्ता किन्नुपर्ने हुन्छ ।

किनभने पोहोर साल हजार रुपैयाँमा किनेको जुनसुकै जुत्ता र कपडालाई तपाईले अहिले एघार सय रुपैयाँ तिर्नुपर्ने छ । त्यसैले पोहोर यतिमा किनेको थेँ भन्दै पसलमा गएर बार्गेनिङ नगर्दा नै राम्रो ।

किनभने गत वर्षको फागुन महिनाको भन्दा यो वर्षको फागुन महिनामा लत्ताकपडा तथा जुत्ताजन्य वस्तुहरुको मुल्य १० प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, अघिल्लो वर्षको तुलनामा गत वर्ष भने यो समूहको मुल्यवृद्धि सूचकांक १२.२ प्रतिशतले बढेको थियो ।

खाद्यको १० र पेयको ७ प्रतिशत मुल्यवृद्धि

फागुन महिनामा वाषिर्क विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः ९.५ प्रतिशत र ४.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमशः १०.८ प्रतिशत र ७.१ प्रतिशतले वृद्धि भएको थियो ।

सूर्तीजन्य पद्धार्थको २६ प्रतिशत बढ्यो

त्यस्तै, समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उप-समूहको मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् २६.६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस उप-समूहको मूल्य सूचकाङ्क २५.३ प्रतिशतले वृद्धि भएको थियो ।

मदिराजन्यको २१ प्रतिशत बढ्यो

राष्ट्र बैंकले सार्वजानिक तथ्यांकअनुसार मदिराजन्य पदार्थ उप-समूह र दुग्ध पदार्थ तथा अण्डा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः २१.१ प्रतिशत र १६.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः २२.५ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको थियो ।

दाल, गेडागुडी र मसलाको पनि बढ्यो

त्यस्तै, समीक्षा अवधिमा दाल तथा गेडागुडी उप-समूह र मसला उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः १६.७ प्रतिशत र १२.० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ६.८ प्रतिशत र १०.५ प्रतिशतले वृद्धि भएको थियो ।

घ्यू र तेलको मुल्यवृद्धिदर घट्यो

गत वर्षको फागुन महिनामा ०.३ प्रतिशतले बढेको घ्यू तथा तेल उप-समूहको मूल्य सूचकाङ्क यो फागुनमा ०.४ प्रतिशतले घटेको छ ।

अन्य घरयासी सामानको मुल्य पनि बढ्यो

त्यस्तै, समीक्षा अवधिमा फनिर्नङ्ग तथा घरायसी उपकरण उप-समूह र अन्य वस्तु तथा सेवा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ८.९ प्रतिशत र ८.३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उक्त उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.४ प्रतिशत र ६.५ प्रतिशतले वृद्धि भएको थियो ।

मनोरञ्जन र शिक्षको मुल्य पनि बढ्यो
फागुनमा मनोरञ्जन तथा संस्कृति उप-समूह र शिक्षा उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.२ प्रतिशत र ५.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उल्लिखित उप-समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ७.५ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको थियो ।

मुल्यवृद्धि ७ प्रतिशत मात्रै

सरकारले मुल्यवृद्धि सरकारको नियन्त्रणमा आएको दाबी गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनाको उपभोक्ता मुल्यवृद्धिदर ७ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा मुल्यवृद्धिदर ८.९ प्रतिशत थियो । सरकाले यो वर्ष मुल्यवृद्धि ८ प्रतिशतभन्दा माथि हुन नदिने लक्ष्य राखेको थियो । तर, मुल्यवृद्धिको अनुपातमा आम्दानी बढ्न नसक्दा महंगीले जनताको ढाड सेकिएको छ ।

उपत्यका र पहाडभन्दा तराईको मुल्यवृद्धि धेरै

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाड र काठमाडांै उपत्यका दुवै क्षेत्रहरुको मूल्य सूचकाङ्कमा ७.१ प्रतिशतले वृद्धि भएको छ भने तराई क्षेत्रको मूल्य सूचकाङ्कमा ६.९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा मूल्य सूचकाङ्कहरुको वृद्धिदर पहाडमा ७.९ प्रतिशत, काठमाडौं उपत्यकामा ८.७ प्रतिशत र तराईमा ९.५ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment