
गतबर्षको अन्तिम शुक्रबारबाट हलमा लागेका ‘नाई नभन्नु ल ३ र हवल्दार सुन्तली’को व्यापारले जगमगाएको चलचित्र क्षेत्रमा यो बर्षको सुरुवातमा पनि सुखद सन्देश प्रवाहा हुनसक्छ । यो बर्ष नेपाली चलचित्र क्षेत्रबाट थुप्रै कलाकारले आफ्नो भाग्य चम्काउन छनक देखाएका छन् । नेपाली चलचित्रको व्यापार नराम्रो भैरहेको चर्चा चलेपनि बर्ष २०७१ को आँकडा सुखद हो ।
बर्षको पहिलो महिना वैशाखमा प्रदर्शमा आउन लागेका केही चलचित्रमध्ये एक हो, ‘होस्टेल रिटर्न्स’ । यो चलचित्रमा सबैजसो कलाकार नयाँ छन् । सबै कलाकारले आ-आफ्नै तरिकाले भाग्य चम्काउने छनक देखिएको छ ।
तर, चलचित्रका मुख्य ३ पात्र सुशिल श्रेष्ठ, शशी श्रेष्ठ र स्वस्तिमा खड्काको भाग्य यो चलचित्रले चम्काउने देखिन्छ ।
सुशिल चलचित्रका मुख्य पात्र हुन् । उनको आकर्षक शरीर, दमदार एक्सन र लुक्सले दर्शकलाई प्रभावित बनाइसकेको छ । सुशिल अब आफू निरन्तर अभिनयमा नै लाग्ने बताउँछन् । कलाकारको खडेरी लागेको चलचित्र क्षेत्रमा यी पात्रको प्रवेश सुखद बन्ने विश्वास लिइएको छ ।
अभिनयमा खासै रुची नभएपनि अब भने नशा लाग्न थालेको बताउने शशी श्रेष्ठ पनि यतिबेला धेरैको नजरमा छिन् । चुलबुले शशीका लागि यो चलचित्र नयाँ आयाम बन्ने देखिन्छ । यस्तै, शशी जस्तै चुलबुले स्वभावकी स्वस्तिमा खड्का पनि ‘होस्टेल रिटर्न्स’की अर्की पात्र हुन् । स्वस्तिमा पनि आफू अब निरन्तर चलचित्रमा काम गर्ने बताउँछिन् ।
दुर्गिस फिल्मस्को ब्यानरबाट डेब्यू गरेका यी ३ कलाकारको आगमन नेपाली चलचित्रका लागि सुखद हुने देखिएको छ ।
हुनत, चलचित्रको व्यापार र कलाकारको अभिनयले उनीहरुको भविष्य आँकलन गर्ने हो । तर, यतिबेला नेपाली चलचित्रमा उच्च शिक्षा हासिल गर्दै गरेका यूवा-यूवतीको प्रवेश बढेको छ । वैशाख २५ गतेपछि यी ३ कलाकारलाई नेपाली चलचित्रले कुन रुपमा देख्ने हो, प्रतिक्षा गर्नैपर्छ ।
प्रतिक्रिया 4