Comments Add Comment

जाईकाको सहयोगमा पोखरेलीले शुद्ध पानी पाउने

सन्देश श्रेष्ठ
७ वैशाख, पोखरा । पोखरेली जनताले आगामी ३ वर्ष भित्रमा शुद्ध खानेपानी प्रयोग गर्न पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाईकाको ३ अर्ब लगानीमा पोखरेली जनताले प्रशोधित शुद्ध खानेपानीको प्रयोग गर्न पाउने भएका हुन् ।

Pokhara-Khanepaniयो प्रोजेक्ट सम्पन्न भए पोखरेलीले मिनरल वाटर जत्तिकै शुद्ध पानी प्रयोग गर्न पाउने खानेपानी संस्थानले जनाएको छ ।
बिना प्रशोधित पानीको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने कुरालाई ध्यानमा राखेर जाईकाको सहयोगमा प्रशोधित शुद्ध पानी वितरण गर्ने तयारी अनुरुप काम थालिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष डा. परमेश्वर पोखरेलले बताए ।

उनले पोखरेली जनताको स्वास्थ्य, माग र आवश्यक्तालाई मध्यनजर गर्दै प्रोजेक्ट शुरु गरेका बताए । पोखरामा खानेपानी सुद्धिकरण तथा शुदृढीकरण कार्यको लागि जाईकासँग सम्झौता भएर काम अघि बढिसकेको उनले जानकारी दिए ।

पोखरेलका अनुसार केही समय अघि काठमाडौंमा भएको सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा र जापान सरकारका तर्फबाट जाइकाका वरिष्ठ सल्लाहकार मात्सु मोटोले हस्ताक्षर गरेका थिए ।

आगामी एक वर्षभित्र सो योजनाको सर्भे र डिजाइन गरिसक्ने तथा बाँकी दुई वर्षभित्रमा पोखरामा स्थान अनुसार विभिन्न साइजका पाइपहरु विछ्याउने योजना रहेको उनले जानकारी दिए । सन् २००४ मा मर्दीको मुहानदेखि विन्ध्यवासिनीसम्म ११ किलोमिटर लम्बाइको बीस इन्च डक्ट आइरन पाइप जापान सरकारको सहयोगमा विछ्याइ सकिएको छ ।

पोखरामा आउने खानेपानीको मुहान मर्दीखोलाबाट दैनिक उत्पादित खानेपानी चार करोड १० लाख लिटर क्षमताको पानीलाई प्रशोधन गर्नेगरी अध्ययन, त्यसको विस्तृत डिजाईन तथा निर्माण कार्य गर्ने तथा खानेपानी सृदृढिकरणको लागि आवश्यक पर्ने जग्गा खानेपानी संस्थानले उपलब्ध गराउने सम्झौता भएको पोखरेलले बताए ।

त्यस्तै, सेती तथा मर्दी किनाराका पाईप बचाउ कार्य गर्ने, उत्पादित पानीलाई उपभोक्ता वर्गसम्म लैजान खानेपानीको वितरण प्रणालीमा सुधार गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

जाईकाले खानेपानी संस्थान पोखरा शाखा अन्तर्गत सञ्चालित कार्यक्रमहरु मर्दी बाँध मर्मत तथा पाईप बचाउ कार्यको लागि करीब ४ करोड, डिप ट्युवेल तथा घारीकुलो खानेपानी योजनाको लागि एक करोड, साबिक हेमजा हाल पोखरा २७, खानेपानी आपूर्ती सहज बनाउनको लागि ४ करोड प्रदान गर्नेछ । यसैगरी वितरण प्रणालीलाई सुधार गर्न प्रस्याङसम्म वितरण भएको २० ईन्चको पाईप जिरो किलोमिटरसम्म बिस्तार गर्ने, पोखरा वडा १०, १४ र १८ मा वितरण प्रणाली सुधार गर्न कुँडहरमा डिप ट्युवेल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने, पोखरा ११, १२, र १३ मा खानेपानी आपुर्ति सुधार गर्न माटेपानीमा निर्माणाधिन ओभरहेड पानी ट्याङकी निर्माण तथा महशुल काउण्टर स्थापना गरीने, पोखरा १५ रामबजारबाट ढुंगेसाँघु चोकसम्म मेन पाईप विस्तार गर्ने योजना रहेको पोखरेलले बताए ।

यस योजना अन्र्तगत पोखरा उपमहानगरपालिका क्षेत्रभित्र करिब ६० किलोमिटर खानेपानीको पाइप लाइन विस्तार तथा सुदृढिकरण पनि गरिने जनाईएको छ ।

पत्रकार सम्मेलनमा खानेपानी संस्थान पोखरा कार्यालयका निमित्त प्रमुख दिनेशकुमार यादवले पोखरामा हाल दैनिक साढे चार करोड लिटर खानेपानीको माग भए पनि साढे तीन करोड लिटर मात्रै वितरण गरिदै आएको जानकारी दिए । उनले पोखरामा अब पुरानो पाईप हटाएर नयाँ पाईप जडान गरिने पनि बताए । उनले एक घर/एक धारा पुर्‍याउने आफूहरुको लक्ष्य भएको भन्दै उनले त्यसका लागि काम तिब्र गतिमा भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment