Comments Add Comment

युवा संघका निरु पाल र दिलु पन्त एकै ठाउँमा

yuba sangh nepal (3)

८ वैशाख, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालमा केही समयदेखि समानान्तर गतिविधि गरिरहेको असन्तुष्ट समूह मंगलबार संस्थापन पक्षसँगै एउटै कार्यक्रममा सहभागी भयो ।

एक महिनाअघि हेटौंडा र काठमाडौंमा अलग-अलग भेला गरेका दुवै समूहले मंगलवार राजधानीको अल्फा हाउसमै एउटै कार्यक्रममा सहभागिता जनाएपछि संघको बिभाजन अन्त्य भएको नेताहरुले दाबी गरेका छन् ।

युवा संघ नेपालले नयाँ इन्चार्ज शेरधन राईको स्वागत र पुराना इन्चार्ज शेरवहादुर तामाङको विदाइका लागि महासचिव ईश्वर पोखरेलको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा असन्तुष्ट समूहकी संयोजक दिलु पन्तसहितका पदाधिकारी र सदस्यहरु सहभागी भए ।

युवा संघको अध्यक्षबाट महेश बस्नेतले राजीनामा दिएर निरु पाललाई अध्यक्ष बनाएपछि उपाध्यक्ष दिलु पन्तलगायत पाँच जना पदाधिकारीले असहमति जनाएका थिए ।

असहमति बढ्दै जाँदा भेला बहिस्कार गर्ने, समानान्तर कमिटी बनाउने हुँदै दिलु पन्त संयोजक भएर युवा संघको समानान्तर कमिटी नै बनेको थियो ।

शेरधन राई इञ्चार्ज भएपछि गत साता उनले दुवै पक्षलाई एकै ठाउँमा राखेर विधानबमोजिम युवा संघको विवाद समाधान गर्ने आश्वासन दिएपछि दुवै पक्ष नजिकिएका हुन् ।

मंगलवार संस्थापन पक्षले स्वागत र विदाइको कार्यक्रम तय गरेपछि पन्त पक्षले पनि सोही समयमा अर्को कार्यक्रम गर्न लागेको थियो । तर, अन्तिममा असन्तुष्ट पक्षका उपाध्यक्ष दिलु पन्त, सचिव मञ्जु यादव लगायतका पदाधिकारी आधिकारिक कार्यक्रममै सहभागी भए ।

निरु पाललाई अध्यक्ष नै स्वीकार नगर्ने बताउँदै आएकी दिलु पन्तले नै सो कार्यक्रममा नयाँ इञ्चार्ज शेरधन राई र नयाँ अध्यक्ष निरु पाललाई अबिर लगाएर स्वागत गरिन् ।

यसैबीच युवा संघका महासचिव राजिव पहारीले संघको विवाद समाधान भएको दाबी गरे । उनले केही विषयमा विधानबमोजिम र पद्दतिसंगत ढंगले टुंगो लगाइने बताए ।

कार्यक्रममा महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले पार्टीको विधान र पद्दतिअनुसार चल्न युवा संघका नेताहरुलाई निर्देशन दिएका थिए । उनीहरुले युवा संघको विवाद पनि सोही बिधिबाट हल हुने बताए ।

सशर्त गएका हौं : दिलु

यसैबीच असन्तुष्ट पक्षकी दिलु पन्तले माघ २१ गतेको निर्णय खारेज गराउने सर्तमा आफूहरु कार्यक्रममा उपस्थित भएको बताइन् । युवा फाँटका इन्चार्जले सो निर्णय खारेज गर्ने आश्वासन दिएको र आफू आशावादी भएको उनले बताइन् ।

मंगलबार आयोजित कार्यक्रम निरु पालको अध्यक्षतामा नभएको समेत उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment