Comments Add Comment

विज्ञ भन्छन्- भुइँचालोले नभत्केको घरमा आरामले सुते हुन्छ

bigya
भूकम्पपछि घरमा बस्न मिल्ने नमिल्नेबारे विज्ञहरूसँग छलफल गर्दै सभासद रविन्द्र अधिकारी

१५ वैशाख, काठमाडौं । भवनसम्बन्धी विज्ञहरुले काठमाडौंका भौतिक संरचना बलियो रहेको निश्कर्ष निकालेका छन् । ७.९ रेक्टर स्केलको भूकम्पबाट पनि नभत्किई सकुशल रहेका घरमा आरामले सुत्न सकिने विज्ञहरुले सुझाव दिएका छन् ।

‘मेरा छिमेकी मेडिकल डाक्टर थिए, उनी त्रिपालमुनि गएर सुते, तर म आफ्नै घरमा सुतिरहेको छु’ पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यले भन्छन्-‘कस्तो घरमा सुत्न हुन्छ कि हुँदैन भन्ने हामी इञ्जिनियरलाई थाहा हुन्छ, मेडिकल डाक्टरलाई होइन ।’

डा. आचार्यले तत्कालै सरकारले नभत्केका घरमा बसे हुन्छ भनेर जनतालाई सार्वजनिक अपिल गर्नुपर्ने बताए । महाविपत्ति आएका बेला सरकारले जनतालाई समय-समयमा सही सूचना दिने र आश्वस्त गर्ने कार्य गर्नुपर्नेमा सो हुन नसकेको उनले गुनासो गरे ।

त्यस्तै पुल्चोक इञ्जिनियरिङ क्याम्पसका नगेन्द्रराज सिटौला भन्छन्- ‘भिनाजुले बरण्डा सुते हुन्छ भनेका आधारमा सुत्ने र हुन्न भनेका आधारमा नसुत्ने गलत हो, यसबारेमा विज्ञले भनेअनुसार गर्नुपर्छ ।’

उनले भने- भुइँचालोपछि म पनि आफ्नै घरमा सुतिरहेको छु, हामी बुद्धिजीवीहरु पहिले आ-आफ्नो घरमा फर्कने हो भने त्रिपालमुनि सुतिरहेका अरु पनि आफ्नो घरमा फर्कन्छन् ।’

विदेशी मिडियाले हल्ला गरेजस्तो काठमाडौं उपत्यकाको अवस्था खराब नरहेको सिटौलाले बताए । ५०/६० वर्ष पुराना, माटाले बनेका संरचनामात्रै भत्केको सिटौलाले बताए ।

काठमाडौंका भवनहरु बस्न लायक रहे/नरहेको कसरी थाहा पाउने भन्नेबारे मंगलबार सिंहदरबार आयोजित कार्यक्रममा सिभिल इञ्जिनियर एवं भूगर्भविदहरुले काठमाडौंका भौतिक संरचना विदेशी मुलुकको भन्दा बलियो रहेको निश्कर्ष सुनाए ।

नेपाल जियो टेक्निकल सोसाइटीका अध्यक्ष टुकलाल अधिकारीले भने- ‘पाकिस्तान, सुडान, भारतको गुजरात लगायतका ठाउँमा गएको भूकम्प हेर्नोस् त, त्यहाँ कति क्षति भयो ? त्यो तुलनामा काठमाडौं बलियो सावित भयो, यत्रो भूकम्प जाँदा हाम्रो देशमा एउटा पुल पनि भत्किएनन् ।’

त्यस्तै इञ्जिनियर अजयचन्द्र लालले यसअघि काठमाडौं जति जोखिमपूर्ण छ भन्ने निश्कर्ष निकालिएको थियो, यसपालिको भूकम्पले त्यसलाई गलत सावित गरेको बताए । यति ठूलो भूकम्प आउँदा पनि काठमाडौंमा असाध्यै कम मात्र क्षति भएको देख्दा आफूलाई अचम्म लागेको उनले बताए । ‘पूर्वअध्ययन अनुसार धेरै ठूलो क्षति हुनुपर्ने हो, तर काठमाडौंमा कमै क्षति भयो,’ उनले भने ।

अर्का विज्ञ इञ्जिनियर सूर्यनारायण श्रेष्ठले पनि सग्ला घरहरुमा फर्कन जनतालाई तत्काल सरकारबाट आह्वान गरिनुपर्ने सुझाव दिए । त्यसपछि चर्केका वा आंशिक रुपमा भत्केका घरमा बस्न सकिने स्थिति रहे/ नरहेको विज्ञहरुमार्फत अध्ययन गर्न सकिने उनले बताए । ‘तर, नभत्केको घरमा बस्न हुन्छ भनेर सरकारले तत्कालै आश्वस्त पार्न जरुरी छ,’ श्रेष्ठले भने ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले पनि काठमाडौंमा ५०/६० वर्ष पुराना घर र गाउँमा माटोले बनेका घर बाहेक नयाँ घरहरुमा कम क्षति भएको बताए ।

घरै नभत्किएकाहरु सार्वजनिक ठाउँमा सुत्न आएको र उनीहरुले त्रिपाल माग्ने गरेको भन्दै केसीले काठमाडौंका घरहरु बलियो रहेकाले त्यसरी जमीनमा सुत्नुपर्ने अवस्था नरहेको बताए ।

शनिबारको भूकम्पले देशभरि ६१ हजार घरहरु भत्किएको जानकारी दिँदै केसीले अब सरकारले त्रिपाल, टेण्ट र अन्य सामाग्रीहरु घरबारविहीन भएकाहरुमा पुर्‍याउन प्राथमिकता दिने बताए ।

पछि निर्माण भएका काठमाडौंका घरहरु बलिया रहेको दाबी गर्दै केसीले भने- ‘ तर, प्रायः जसो माटाले बनेका ६१ हजार घरहरु हामीले बचाउन सकेनौं ।’

सभासदको जिज्ञासा – घरको जाँच गर्न मिल्दैैन ?

विज्ञसँग छलफलको संयोजन गरेका व्यवस्थापिका संसदअन्तरगत विकास समितिका सभापति रविन्द्र अधिकारीले प्रश्न गरे- ‘भूकम्पपछि चर्केका घरहरु बस्न लायक छन् कि छैनन् भनेर जाँच गर्न सकिँदैन ?’

सभासद अधिकारीको विज्ञसँग थप गुनासो पोखे, ‘कर्मचारी प्रशासनका उच्च अधिकारीलाई सोध्दा त्यस्ता घरहरुको अध्ययन गर्न सकिँदैन, गरे पनि २० वर्ष लाग्छ हजुर भन्छन्, तर विज्ञहरुले चाँहि सजिलै सकिन्छ भन्ने जवाफ दिन्छन्, वास्तविकता के हो ?’

अधिकारीको जिज्ञासा मेटाउँदै विज्ञ सूर्यनारायण श्रेष्ठले भने- ‘त्यस्ता घरमा बस्न हुने/नहुनेबारे मजाले अनुसन्धान गर्न सकिन्छ, भवन विभागले बनाएको गाइडबाटै अध्ययन गर्न सकिन्छ, हाम्रै देशमा यस्तो जनशक्ति छ र यसमा हामी सरकारलाई सघाउन तयार छौं ।

श्रेष्ठले पाकिस्तानमा भूकम्प आएका बेला आफूले गरेको कामको अनुभव सुनाउँदै त्यस्तो अध्ययन तीन चरणमा गर्नुपर्ने बताए । सुरुमा चाँहि घरहरुलाई सामान्यरुपमा हेरेर नभत्किएको घरमा फर्कन सरकारले जनतालाई तुरुन्तै आह्वान गर्नुपर्ने उनले बताए । त्यसपछि थप विशेषज्ञले भवनहरुको विश्लेषण गर्नुपर्ने बताए ।

तर, भवन विभागका महानिर्देशक केसीले चाँहि गाउँमा माटाले बनेका घरमा बस्न सकिन्छ कि सकिँदैन भन्नेबारे कुनै अध्ययन गरिराख्नु नपर्ने र हेरेरै थाहा हुने बताए । ‘समस्या गाउँमा छ, माटाका घरहरु भत्केका छन्, केसीले भने-‘अब सुरु हुने मनसुनबाट पीडितलाई जोगाउनेबारे सरकारले प्राथमिकता दिन जरुरी छ, घर नभत्किइकनै सडकमा पाल टाङ्नेहरुलाई भन्दा क्षतिग्रस्त ठाउँमा पहिले ध्यान दिने सरकारको नीति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment