Comments Add Comment

भूकम्पमा मूत्यु भएका १२७ को सनाखत भएन

१५ वैशाख, काठमाडौं । भूकम्पका कारण काठमाडौंमा मृत्यु भएकामध्ये १ सय २७ शवको सनाखत भएको छैन । सनाखत नभएका शवहरु महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

प्रहरीले शवको पहिचान गर्न शिक्षण अस्पतालमा आउन आह्वान गरेको छ । ‘शव पहिचान गर्न हामीले अस्पतालमा बोलाएका छौं र सबै जिल्लाहरुमा सर्कुलर पनि गरेका छौं,’ एक प्रहरी अधिकृतले भने ।

सनाखत भएका शवहरु आफन्तलाई जिम्मा लगाउने काम पनि भैरहेको छ । तर नभएका शवहरु अस्पतालमै राखिएको छ ।

शनिबार आएको भूकम्पको धक्काले काठमाडौं उपत्यका सहित ३९ जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । भूकम्पबाट सबैभन्दा धेरै मानिसको मृत्यु सिन्धुपाल्चोक जिल्लामा भएको छ ।

मृतकको संख्या बढ्दो

यसैवीच गृहमन्त्रालयका अनुसार मंगलबारसम्म मृतकको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । घाइते भई उपचार गराएर ५ हजार ३ सय जना घर फर्केका छन् भने ८ सय ५२ जनाको अझैसम्म विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार हेलिकोप्टरले विभिन्न जिल्लाहरुमा राहत सामाग्री पुर्‍याउनुका साथै पीडितको उद्दार गरेको छ । मंगलबार एक दिानमा सिन्धुपाल्चोक, सोलुखुम्बु, गोरखा र नुवाकोटमा हेलीकोप्टर परिचालन गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै विभिन्न जिल्लाहरुमा जनपथ, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १६ हजार ८ सय २४ सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।

विदेशी सहायताकर्मी कहाँ ?

बाहिरी देशबाट आएका मेडिकल टिमहरु मध्ये भारतीय टोली लगनखेल, सिनामंगल र स्वास्थ्य मन्त्रालयमार्फत खटिएको छ । पाकिस्तानी सनेाको टोली भक्तपुरमा, श्रीलंकाली टोली दोलालघाटमा र बंगलादेशको टोली ललितपुरको खोकनामा खटिएको छ ।

त्यसैगरी चिनियाँ टोली धुलीखेल र उपत्यका पृतना कार्यालयमा खटिएको छ । मलेसियाको मेडिकल टोली हनुमानढोकामा खटिएको छ ।

विदेशबाट आएको उद्दार टोलीले पनि सक्रियतापूर्वक काम गरिरहेको छ । भारतीइ टोलीले बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला र धरहरामा काम गरेको छ , यसक्रममा बाइसधाराबाट २ वटा शव निकालिएको छ । श्रीलंकाको टोलीले बालाजुबाट एकजनाको जीवितै उद्दार गरेको छ ।

चिनियाँ टोलीले बालाजुमा ६७ जना, डल्लु, काठमाडौं स्क्वायर र कपनमा ५० जनाको उद्दार गरेको छ । टर्कीको टोलीले करदाता कार्यालय, बालुवाटार, ग्रीनल्याण्ड होटल, महाराजगञ्ज, भोटाहिटी, असन, पकनाजोल, धुलिखेल, काभ्रेपलाञ्चोकमा काम गरेको छ ।

त्यस्तै नेदरल्याण्डको टोली धापासी, नेशनल मेडिकल कलेज, जोरपाटी, ठहिटी, बजेट होटल र ठमेलमा खटिएको छ भने कुकुरसहित आएको पोल्याण्डको टोली भक्तपुरको कमलविनायकमा खटिएको छ ।

त्यस्तै जर्मनी टोली सुन्दरीजलमा, बेलायती टोली सिन्धुपाल्चोकमा र फ्रान्सको टोली कालीमाटीमा खटिएको छ । इजरायलबाट आएको उद्दार टोली गोंगबूमा र जापानी सहयोग नियोग जाइकाको टोली हनुमानढोकामा खटिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment