Comments Add Comment

नेपालको भूकम्पबारे क्यानडामा चासो, मिडियामा नेपालकै चर्चा

१५ वैशाख, ओटावा । महाभूकम्पले नेपालमा परेको असरबारे क्यानडा सरकारले चासो ब्यक्त गरेको छ । क्यानेडियन सरकार, स्थानीय सञ्चारमाध्यम र मानवीय सहयोग संस्थाहरुले भूकम्पको विपतबारे चासो ब्यक्त गरेका हुन् ।
नेपाली संघसंस्थाबाहेक पनि क्यानडाका विद्यालय, कलेज, चर्च, मन्दिर जस्ता मानिसहरुको जमघट हुने स्थानमा नेपालमा सहयोग गर्न प्रयासहरु थालिएको छ ।

क्यानडाका गभर्नर जनरल डेभिड जोन्सनले मंगलवार नेपालका राष्ट्रपति रामवरण यादवलाई एक सन्देश पाठाउँदै नेपालीहरुलाई परेको यस विपदमा क्यानडेली जनताको तर्फबाट दुःख व्यक्त गरेका छन् । उनले नेपालीहरुले सामना गरिरहेको यससंकटमा क्यानडा सरकार हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन् ।

यसैगरी, क्याडनाको प्रधानमन्त्री स्टेफन हार्पर, विदेशमन्त्री रब निकल्सन, रक्षा मन्त्री जेसन केनी लगायतले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै नेपाललाई यस संकटमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । नेपालमा भूकम्प गएको जानकारी हुनासाथ क्यानडा सरकारले तत्कालीन राहतका लागि ५० लाख डलर सहयोग घोषणा गरेको थियो ।

त्यसैगरी ओन्टारियो र क्युबेकका प्रान्तीय सरकारहरुले समेत नेपाललाई आर्थिक एवम् उद्दारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री क्याथलिन विनले ओन्टारियो प्रान्तका तर्फबाट दस लाख डलर उपलब्ध गराउने जानकारी दिएकी छन् ।

विदेशमन्त्री रब निकोल्सनले क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलसँग भेट गरी नेपाललाई तत्काल आवश्यक पर्ने सहयोगका सम्बन्धमा जानकारी लिनुका साथै क्यानडा सरकारले गरिरहेका प्रयासहरुबारे जानकारी गराएका थिए ।

उद्धार तथा राहत सहयोगका लागि विदेश मन्त्रालयको विपद् व्यवस्थापन विभागका निर्देशक क्रिस्टोफर गिब्बन्सको नेतृत्वमा सात सदस्यीय टोली सोमवार नेपाल प्रस्थान गरेको छ ।

त्यसैगरी, ३६ हजार किलोग्राम राहत सामग्रीसहित भूकम्प उद्धार विशेषज्ञहरुको टोली मंगलवार ओटावाबाट दिल्ली हुँदै काठमाडौं प्रस्थान गरेको छ ।

चिकित्सा क्षेत्रमा काम गर्ने क्यानडाको ‘ग्लोबल मेडिक’ संस्थाले भूकम्प पीडितहरुको स्वास्थ्य उपचारमा खर्च गर्न पानी प्रशोधक यन्त्र, पाल, मेडिकल उपकरण, औषधी, चिकित्सक र नर्स सहितको ठूलो टोली नेपाल पठाएको छ ।

त्यसैगरी क्यानडा रेडक्रसले १२० बेडसहितको आपतकालीन अस्पत्ताल, २५ जना चिकित्सक, उपकरण र औषधीहरुसहितको टोली नेपाल पठाएको छ ।

क्यानडाकै सर्वाधिक प्रतिष्ठित ‘ग्लोब एन्ड मेल’ अखबारदेखि स्थानीय ‘मेट्रो’ दैनिकले नेपालको अवस्था, क्यानडा सरकारले गरेका प्रयासहरु, नेपालमा रहेका क्यानडेलीहरुका प्रत्यक्ष अनुभव तथा क्यानडामा रहेका नेपालीहरुका विचार एवम् अन्तर्वार्ताहरु प्रकाशन गरेका छन् । ग्लोब एन्ड मेलले मुखपृष्ठदेखि भित्री चार पृष्ठहरुमा नेपालको घटनाक्रमलाई समेटेको छ ।

क्यानडाको सीबीसी रेडियो, सीबीसी टेलिभिजन, स्थानीय रेडियो तथा निजी टेलिभिजन च्यानलहरुले पनि नेपाललाई सघाउन क्यानडामा भइरहेका प्रयास एवम् नेपालमा रहेका क्यानडेली नागरिकको अवस्थाका बारेमा रिपोर्टहरु प्रसारण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment