Comments Add Comment

भूकम्प पीडित १० हजार परिवारलाई एनआरएनले १० करोड राहत दिने

१५ वैशाख, काठमाडौं । हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् ।

गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी गरिरहेका छन् । जसबाट उनीहरुले राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने तयारी गरिरहेका छन् ।nrna_logo_latest

एनआरएनले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने तयारी गर्दै छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्प पीडित राहत समितिको वैठकले राहत रकम र जिल्ला निर्धारण गरेको हो ।

यसअघि एनआरएन आईसीसीको वैठकले भूकम्प पीडितलाई राहत प्रदान गर्न संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा राहत समिति गठन गर्दै संसारभरका नेपालीलाई एनआरएन राहत संकलन अभियानमा सहभागी हुन आह्वान गरेको थियो । साथै वैठकले केन्द्रीकृत राहत रकम संलकन गरी एनआरएनकै पहलमा पीडितहरुसमक्ष राहत रकम पुग्नेगरी अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

भूकम्प पीडितका लागि अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना गुरुङले परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनमार्फत् २ करोड रुपैयाँ प्रदान गर्नुभएको छ भने उपाध्यक्ष भवन भट्टले एक करोड रुपैयाँ प्रदान गर्नुभएको छ । अन्य पदाधिकारी र बिभिन्न देशबाट संकलित रकम गरी करिव ६ करोड रुपैयाँ संकलन भइसकेको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

‘हामीले कम्तीमा १० देखि १२ करोड रुपैयाँ जम्मा गरी राहत प्रदान गर्ने तयारी गरिरहेका छौं’ अध्यक्ष शेष घलेले भने- ‘तत्कालका लागि त्रिपाल, कम्बल, खाद्यान्न तथा औषधी लगायतका सहायता प्रदान गर्दैछौं ।’

यसैगरी गैरआवासीय नेपाली संघले झण्डै एक हजार स्वास्थ्यकर्मीलाई स्वयंसवेकका रुपमा परिचालन गरी स्वास्थ्य शिविर खडा गर्ने छ । त्यसका लागि बिभिन्न देशमा कार्यरत गैरआवासीय नेपालीहरु नेपाल आउनेक्रम सुरु भइसकेको छ ।

वैठकमा भूकम्प प्रभावित सवै जिल्लाहरुको बिबरण प्रस्तुत गर्दै गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले काठमाण्डौमा अन्य संस्थाको पहुँच पुगेको हुनाले धेरै प्रभावित काठमाण्डौ बाहिरका दुर्गम जिल्लामा राहत केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए । सोही आधारमा वैठकले तत्कालका लागि ७ जिल्लामा राहत केन्द्रीत गर्ने निर्णय गरेको छ ।

वैठकले सातवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरण गर्ने गाविसको छनौट गरी राहत वितरण गर्ने तयारी गरिरहेको छ । वैठकले सातवटै जिल्लाका लागि समन्वयकर्ता चयन गर्दै स्थानीयतहमा समन्वय गर्ने जिम्मेवारीसमेत दिएको छ । सवै जिल्लामा राहत बितरणको नेतृत्व स्वयं अध्यक्ष घलेले गर्नेछन् ।

एनआरएनले पहिलो चरणमा सातवटा जिल्लामा प्रारम्भिक राहत प्रदान गर्ने र दोस्रो चरणमा केही गाविसमा पुर्ननिर्माणमा सहभागी हुने तयारी गरिरहेको छ । त्यसका लागि बिश्वभर रहेका नेपालीलाई एनआरएनले संचालन गरेको राहत रकम संकलन अभियानमा सहभागी हुन र संकलित रकम केन्द्रीकृतरुपमा खर्च हुने गरी गैरआवासीय नेपाली संघ राहत समितिलाई प्रदान गर्न वैठकले आह्वान गरेको छ ।

साथै वैठकले भूकम्पग्रस्त क्षेत्रमा महामारी फैलिने र त्यसले फेरी पिडीतलाई थप पीडामा पार्ने सम्भावना रहेकाले करिव एक हजारको संख्यामा स्वास्थ्यकर्मीलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसका लागि अष्ट्रेलिया, बेलायत लगायतका केही मुलुकबाट स्वयंसेवक स्वास्थ्यकर्मीहरु काठमाण्डौ आउनेक्रममा छन् । बैठकले नेपालमा काम गर्ने अनुमति भएका गैरआवासीय नेपाली स्वास्थ्यकर्मीलाई स्वयंसेवी अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

साथै वैठकले एनआरएन आईसीसीको निर्णय बमोजिम मातृभूमी नेपाल शोक र पीडामा परेको यो घडीलाई गम्भीरतापूर्वक मनन् गरी मातृभूमीप्रतिको आफ्नो दायित्व सम्झदै रकम संकलन अभियानलाई तिब्रता दिन र संकलित रकम तत्कालै एनआरएन सचिवालयमा पठाउन सवै देशमा रहेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्लाई निर्देशनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment