Comments Add Comment

भूकम्प प्रभावितलाई १५ करोड सहयोग गर्ने उपेन्द्र महतोको घोषणा

१९ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प प्रभावितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आमाको नाममा स्थापित फुलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत समाग्री वितरण र विद्यालय पुनर्निर्माणमा खर्च गर्ने महतोले बताएका छन् । १५ करोड मध्ये तीन करोड रुपैयाँको राहत सामाग्री भूकम्प पीडितलाई वितरण गर्ने भएका छन् भने १२ करोड रुपैयाँ भत्किएका विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्नेछन् ।

upendra mahato
पीडित परिवारको तत्कालको आवश्यकता पुरा गर्नेगरी ६ जनासम्म अटाउने फेमिली टेन्ट, २/२ वटा तन्ना, म्यार्टेस, कम्बल, तकिया, तौलिया, रेनकोट तथा चामल, दाल, च्यूरा, तेल, नुन, साबुन वितरण गर्ने महतोले बताएका छन् ।

राहत सामाग्री कुन ठाउँमा उपलब्ध गराउने भन्ने विषयमा महतोले केही उल्लेख गरेका छैनन् । बढी भुकम्प प्रभावित ठाउँमा सरोकारवालसँग सल्लाह गरेर राहत वितरण गर्ने उनको भनाइ छ ।

सबैभन्दा बढी भुकम्प प्रभावित जिल्लाका अत्याधिक क्षतिग्रस्त विभिन्न स्थानमा १२ करोडको लागतमा भुकम्प प्रतिरोधी स्कुल भवनहरुको पुनरनिर्माण गर्ने बताइएको छ । नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरी निर्माण स्थलको चयन गरिने भएको छ ।

मुलुकमा परेको महाविपत्तीमा निजी क्षेत्रको सहयोगी भूमिका आवश्यक रहने बताउँदै महतोले निजी क्षेत्र मुलुकप्रतिको दायित्वबाट मुक्त हुन नसक्ने बताएका छन् ।

महतोले सबै नेपाली दाजुभाई, दिदी बहिनी तथा विदेशी शुभचिन्तकलाई आवास, स्वास्थ्य, शिक्षा लगायत भौतिका संरचनाहरुको पुनरस्थापना र पुनर्निर्माणको आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आहृवान समेत गरेका छन् ।

सबै नेपालीहरु आत्मविश्वास नगुमाई आ-आफ्नो क्षमताअनुरुप उद्दार, राहत र पुनःस्थापनामा जुटेर देशको पुनर्निर्माणमा लाग्नुपर्ने बेला आएको महतोको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment