Comments Add Comment

भूकम्प पीडितलाई टहरा बनाइदिन गगन थापा नुवाकोटमा

१ जेठ, काठमाडौं । भूकम्प पीडित परिवारलाई अस्थायी घर निर्माण गर्न नेपाली कांग्रेसले स्वयंसेवी अभियान सुरु गरेको छ । अस्थायी घर निर्माण गर्न कांग्रेस केन्द्रीय सदस्य गगन थापा नेतृत्वको टोली शुक्रबार नुवाकोटको कुमरी पुगेको छ ।

Gagan Thapa with onlinekhabar3

कुमरीमा ४५ वटा अस्थायी घर निर्माण गर्ने र थप २० घरका लागि जस्तापाता (टिन) र बाँस उपलव्ध गराउने योजना रहेको थापाले जानकारी दिए ।

‘स्थानीयवासी र युवा साथीहरूको संयुक्त स्वयंसेवी श्रमदानमा हामी घर निर्माण गर्ने छौं,’ थापाले विज्ञप्ति निकालेर भनेका छन्, ‘हामी घर निर्माण गरेर मात्र कुमरीवाट  फर्कने छौं ।’

सरकारको ध्यानाकर्षण

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भूकम्प पीडितलाई पर्याप्त पाल समेत उपलब्ध गराउन नसकेको सरकारलाई पूर्वप्रतिबद्धता अनुसार हरेक परिवारलाई दुई बण्डल जस्तापाता तत्काल उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् । अन्यथा सरकारप्रति पीडितको आक्रोश झन् बढ्ने थापाको ठम्याइ छ ।

थापाले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘अहिले पाल उपलव्ध गराउन असफल भएजस्तो जस्ता पनि प्रभावकारी र व्यवस्थित रुपमा समयमा नै उपलव्ध गराउन सकिएन भने यसले सरकारप्रति थप आक्रोश उत्पन्न गराउने निश्चित छ । यसतर्फ सरकारको समयमै ध्यान जाओस् ।’

नजिकिँदै गरेको बर्षा मौसम र संभाव्य विपत्तिलाई समेत ध्यान दिएर छिटो भन्दा छिटो अस्थायी ओतको व्यवस्था गर्नु अहिलेको प्रमुख चुनौति रहेको उनले बताए ।

सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्वासको लागि प्रभावकारी काम गर्न नसकेको भन्दै थापाले आफूहरुको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment