१७ चैत, काठमाडौं । म्यान्चेष्टर सिटीले फुलह्यामलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा बर्नाल्डो सिल्भा र सर्जियो अग्युरोले गोल गरे ।
खेलको पाचौं मिनेटमा नै सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै, अग्युरोले २७ औ मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि यही अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।
शीर्ष स्थानमा उक्लिएको सिटीको ३१ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ ।
शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, लेष्टर सिटीले बर्नमाउथलाई २–० गोलअन्तरले पराजित गर्दा एभर्टनले पनि वेष्टह्यामलाई २–० गोलअन्तरले नै पराजित गरेको छ । यता, क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई २–० गोलअन्तरले नै पराजित गर्दा बर्नेलीले पनि वोल्भसलाई २–० गोलअन्तरले नै पराजित गरेको छ ।
प्रतिक्रिया 4