 
																			१६ चैत, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षामान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया, र अष्ट्रियाका लगानीकर्ताहरुसँग भेटवार्ता गरेका छन् ।
सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार भएको भेटवार्तामा नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पुनले शनिबार उर्जा क्षेत्रमा लगानी गर्न ईच्छुक कम्पनीका उच्च अधिकारीहरुसँग पाँच घण्टे छलफलमा नेपालमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।
मन्त्रालयले विदेशी लगानीकर्तालाई आवश्यक सहजिकरण गर्ने उनको भनाइ छ । मन्त्री पुनले पावर चाइनाका अध्यक्ष सोङ डोंगसोङसँगको भेटमा जलविद्युत क्षेत्रको लागीे आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । उनले पावर चाइनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको बताए ।
भेटमा पावर चाइनाका अध्यक्ष डोंगसोङले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरिरहेको बताएका थिए । उनले भने, ‘तल्लो अरुण, किमाथांका र आधिंखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौ, त्यतिमात्र होईन हामी अफ ग्रिड पावरको क्षेत्रमा पनि काम गर्न ईच्छुक छौं ।’
उनले सरकार, सरकारी कम्पनी र नीजि क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागी आफूलाई सरकारको सहयोग आवश्यक रहेको बताए । डोंगसोङले पछिल्लो एक वर्षमा उर्जा क्षेत्रमा भएको नीतिगत सुधारको प्रशंसा गर्दै नेपाल दक्षिण एसियाकै उर्जा हब वन्न सक्ने बताए ।
नेपालमा सहुलियतपूर्ण ऋण, बुट र पीपीपी मोडेलमा नेपालमा लगानी गर्न पावर चाइना ईच्छुक रहेको उनले बताए । चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेईगाओले पनि मन्त्री पुनसँग भेट गरेका छन् ।
भेटमा उपाध्यक्ष वेईगाओले नेपालको प्रशारण लाईनमा लगानी गर्न आफ्नो कम्पनी ईच्छुक रहेको बताए । उनले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चासो व्यक्त गरेका थिए ।
जवाफमा मन्त्री पुनले उर्जा मन्त्रालयले प्रशारण लाईनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गरे । ‘हामीले केही समयअघि मात्र प्रशारण लाईनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौ, न्यू बुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि हामीसँग छन्, तपाईंहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस्, हामी सहयोग गर्न तयार छौ’, मन्त्री पुनले भने ।
उनले नलगाड र जगदुल्लाजस्ता आयोजनामा पनि लगानीको अवसर रहेको बताएका थिए । माथिल्लो त्रिशुली १ मा लगानी गरिरहेको कोरियन कम्पनी कोरिया साउथ–ईष्ट पावरका प्रतिनिधी र उर्जामन्त्री पुनबीच समेत भेटवार्ता भएको छ ।
भेटमा कम्पनीका प्रतिनिधीले उर्जा मन्त्रालयले गरेको सहजीकरणप्रति धन्यवाद व्यक्त गर्दै परियोजना तोकिएकै समयमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी अक्टोवरमा कम्पनीले निर्माण कार्य सुरु गर्ने जानकारी समेत मन्त्री पुनलाई दिए ।
त्यसैगरी लगानी सम्मेलनकै लागी भारतबाट काठमाडौं आएका अष्ट्रीयन दुतावासका कमर्सियल काउन्सिलर रोवर्ट लकले शनिबार नै उर्जामन्त्री पुनसँग भेटवार्ता गरेका छन् ।
उनले अष्ट्रियाका उर्जा तथा सिंचाईमन्त्रीले नेपाली समकक्षी पुनलाई दिएको निमन्त्रणापत्र समेत हस्तान्तरण गरेका थिए । रोबर्टले मन्त्री पुनसँगको भेटमा अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न खोजेको भन्दै सम्झौताका लागी एमओयूको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मन्त्री पुनले शुक्रवार लगानी सम्मेलनपछि म्यानमारका लगानी र वैदेशिक आर्थिकक सम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, भारतिय कम्पनी जिएमआरका प्रतिनिधी र एडिवीका उपाध्यक्ष चेन चेनसँग भेटवार्ता गरे ।
म्यानमारका मन्त्री टुनले उर्जा क्षेत्रका अनुभव आदान–प्रदान गर्नुपर्ने भन्दै आगामी जुनमा म्यानमारले आयोजना गर्न लागेको विमस्टेकको मन्त्रीस्तरीय वैठकमा भाग लिनको लागी निम्तो समेत प्रदान गरे ।
एडिवबीका उपाध्यक्ष चेनले मन्त्री पुनसँगको भेटमा नेपालको उर्जा क्षेत्रमा एडिबीले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी विस्तार गर्न खोजेको जानकारी दिए । उनले ६०० मेगावाट क्षमता भएको दुधकोशी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताए ।
 
                









 
                     
                                 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4