 
																						१४ कार्तिक, सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात भएपछि त्यस क्षेत्रका प्रहरी चौकी सदरमुकाम सार्न थालिएको छ । प्रदेशका तीन हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाम सार्न थालिएको हो ।
प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । हिउँ पर्न सुरु भएपछि प्रहरी चौकी सदरमुकाम स्थानान्तरण गर्न थालिएको प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार डोल्पाका ६, हुम्ला र मुगुको एक/एक वटा प्रहरी चौकी सार्न थालिएको छ । ‘हिमपात र चिसो बढेपछि त्यहाँका स्थानीयहरू पनि सदरमुकाम झर्ने गरेका छन्’ डिआइजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘स्थानीय तहको समन्वय र जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार प्रहरी चौकी स्थानान्तरण गरिएको छ ।’
प्रदेशका ८ वटा प्रहरी चौकी स्थानान्तरण गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट समेत अनुमति लिइएको डीआईजी श्रेष्ठले बताए । हिमापात रोकियो र स्थानीयहरू गाउँ फर्किन थाले पछि जति बेला पनि ती चौकीहरू फर्काउन सकिने प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार हुम्लाको नाम्खा–६ का तिल, हल्जी र जाङको सुरक्षामा खटिएको प्रहरी टोली सिमकोट आइपुगेको छ । यस्तै उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी पनि सदरमुकाम दुनैमा सार्न सुरु गरिएको छ ।
माथिल्लो डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा रहेका प्रहरीहरु सदरमुकाम झर्ने काम भइरहेको छ । माथिल्लो डोल्पामा रहेका इलाका प्रहरी कार्यालय नाम्दो, तिन्जे, भिजेर, धो, बेश टास्की र राप प्रहरी चौकी दुनैमा सारिएको छ । त्यस्तै मुगुको इलाका प्रहरी कार्यालय मुगुमलाई सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका चौकीलाई सुरक्षित र पायक पर्ने प्रहरी कार्यालयमा सार्ने गरिएको छ । हिमाली गाउँहरूमा मानिसहरूको आवतजावत नै रोकिने भएपछि प्रहरी चौकीमा रासन पानीको व्यवस्था गर्नसमेत कठिन हुने गरेको डिआइजी श्रेष्ठले बताए ।
‘ती चौकीहरूमा आवश्यक परेको खण्डमा जति बेला पनि खटाउन सकिन्छ । तर आवश्यक छैन भने अब एकै पटक वैशाख, जेठतिर फर्किन्छन्,’उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4