+
+
Shares

कर्णालीको जोखना हेर्ने ‘अछेता’

सले एकातिर त्यहाँको सुन्दर संस्कृतिलाई देखाउँछ भने अर्कोतिर जातीय विभेद र अभावग्रस्त जीवनको तितो यथार्थलाई चित्रण गर्छ ।

सापेक्ष सापेक्ष
२०८३ वैशाख २८ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटक \'अछेता\'ले कर्णालीको सामाजिक, आर्थिक र सांस्कृतिक समस्यासहित जातीय विभेद र स्वास्थ्य अभावलाई देखाएको छ।

भर्खरै जन्मिएको छोरोलाई ज्वरोले च्याप्दै लगिरहेको छ । अस्पताल लैजान पैसा छैन । घरदेखि सदरमुकाम पनि टाढा छ । अस्पतालमा पुर्‍याइहाले त्यहाँ डाक्टरहरू छैनन् । सबै काठमाडौं गएका छन् ।

छोरोलाई अस्पताल लान नपाएपछि गीतामा छटपटी निरन्तर बढ्दै गइरहेको छ । उनले आफ्ना बुढा दलबहादर कामीलाई ‘जसरी पनि छोरोलाई अस्पताल लैजाऊ, नत्र म आफैं लैजान्छु’ भनिरहेकी छिन् ।

दलबहादुर पैसा जुटाउन गाउँमा दौधदुप गरिरहेको छ । भर्खरै उसले वडा अध्यक्षका लागि एउटा मूर्ति बनाएर सकेका हुन्छन् । उनीबाट केही पैसा आउँछ कि भनेर आश गरेका हुन्छन् । तर, वडाअध्यक्षले पैसा दिँदैनन् । मूर्ति भने लिएर जान्छन् ।

पैसा जुगाड गर्न लागिरहेकै बेला यता छोरोको मृत्यु हुन्छ ।

000

दलबहादुर दलित पात्र हो । उ अलि रुढिवादी छ । यसको कारण उसँग शिक्षा छैन । उ आधुनिक स्वास्थ्य उपचारभन्दा पनि धामी झाँक्रीमा विश्वास गर्छ ।

घरमा केही समस्या पर्ना साथ ऊ जाने भनेको गाउँको धामीकहाँ हो । धामीले भनेको कुरा ऊ कहिल्यै काट्न सक्दैन । ऊ निकै महेनती छ । श्रम गरेरै परिवार पाल्ने ल्याकत छ । श्रीमती गीतालाई पनि असाध्यै माया गर्छ ।

यसअघि नै उपचार अभावका कारण उनीहरूले दुई सन्तान गुमाइसकेका हुन्छन् ।

गीता अलि प्रगतिवादी सोचकी पात्र हुन् । उनलाई धामी झाँक्रीमा विश्वास छैन । दुई-दुई सन्तान गुमाएको पीडा छ उनमा । नयाँ सन्तान जन्मिएपछि उनीहरूको जीवनमा आशा पलाउँछ । अझै पनि श्रीमान ढोंगी जीवनबाट बाहिर निस्किन सकेको छैनन् । यसैले उनले श्रीमानले बोकेको विश्वासबारे प्रश्नहरू गरिरहन्छिन् ।

यही एउटा दलित परिवार नाटकको केन्द्रमा छ । उनीहरूले समाजको थिचोमिचो र जातीय विभेदको सामना गर्नुपर्छ । तर, त्यसविरूद्ध बोल्ने कोही पनि हुँदैनन् । उनीहरू निरीह हुन्छन् ।

दल बहादुरको श्रम समाजमा चल्छ । उनले बनाएको मूर्ति मन्दिरमा चल्छ तर पूजा गरिरहेको ठाउँमा एक पटक झुक्किएर पुग्दा ऊ अपमानित हुनुपर्छ।

नाटकको नाम ‘अछेता’लाई समेत बिम्बात्मक रूपमा प्रयोग गर्दै विभेदलाई दर्शाइएको छ ।

जस्तै, एउटा दृश्यमा दल बहादुरलाई धामीले छुट्टै र अपहेलित ढंगले अछेता दिन्छन् भने माथिल्लो जातका व्यक्तिलाई सम्मानपूर्वक टोपीमा हालिदिन्छन् ।

त्यस्तै, नाटकमा शुभ र दु:खको साक्षीका रूपमा अछेतालाई देखाइएको छ । हुन त अछेता चामलको दाना हो । तर, यसले नाटकमा ठूलो बिम्बको रूपमा काम गरेको छ ।

दलितले मन्दिरमा अछेता चढाए त्यो मान्य हुँदैन । तर, त्यही अछेता ठूला जातले चढाए मान्य हुन्छ । झारफुकपछि धामीले दिने पनि अछेता नै हो । जसलाई धेरैले विश्वासका रूपमा लिन्छन् । तर, त्यो अभिशाप बन्न कति पनि समय लाग्दैन ।

नाटकमा कर्णालीको समस्यासँगै त्यहाँको संस्कृति र रीतिरिवाजलाई जीवन्त तरिकाले देखाइएको छ ।

सबैभन्दा पहिला त संवाद नै उत्कृष्ट पक्ष हो । स्थानीय लवज, भाका र गीतले नै दर्शकलाई कर्णाली पुर्‍याइदिन्छ । भलै कतिपयका लागि यो समस्या पनि हुन सक्ला । तर, लाग्छ- दर्शकका लागि भाषा त्यति वाधक हुँदैन ।

बच्चा जन्मिएपछि महिलाहरूले गाउने ‘मागल’ र बच्चालाई नचाइने ‘बालो नचाउने’ जस्ता मौलिक संस्कृतिहरू नाटकमा देख्न सकिन्छ । त्यस्तै, बाली भित्र्याएपछि काम गर्ने दलित समुदायलाई दिइने अन्नको भाग अर्थात् खलो प्रथालाई पनि नाटकले समेटेको छ।

अस्पतालको अभावमा अझै पनि धामी-झाँक्री र देउतामाथि भर पर्ने कुरा त भइहाल्यो । साथै स्थानीय भाका, स्थानीय नृत्य आदिलाई पनि नाटकमा देखाइएको छ । यी सबैले समाजको मनोविज्ञान पनि बुझ्न सकिन्छ ।

यो नाटकका सबै पात्रहरू गाउँले परिवेशका छन् । तर, त्यहाँ भएको सामाजिक संरचनालाई नाटकले राम्ररी टिप्न सकेको छ । रोचक कुरा नाटकमा अभिनय गर्ने धेरै जना पहिलो पटक अभिनय गरिरहेका कलाकारहरू रहेको निर्देशक सुनारको भनाइ छ ।

सायद त्यसैले पनि होला, संवाद/लवज प्राकृतिक सुनिन्छ । अभिनयमा कृत्रिमता देखिँदैन।

000

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा कान्तिपुर थिएटरमा भइरहेको ३ दिने त्रिदेशीय नाटक महोत्सवमा अछेता मञ्चन गरिएको थियो । यही नाटक १ जेठदेखि शिल्पी थिएटरमा मञ्चन हुँदैछ ।

गोविन्द सुनार निर्देशित यो नाटक कर्णालीको मौलिक कथामा बनेको छ । नाटकमा समस्या, सामाजिक संरचना र अवस्थाबाट कर्णालीलाई मञ्चमा देखाइएको छ ।

हामीलाई सबैलाई थाहा छ, कर्णाली सधैं सरकारको उपेक्षामा पर्दै आइरहेको छ । त्यहाँ विकासका लागि हुनुपर्ने आधारभूत तत्वहरू छैनन् । अस्पताल छैन । शिक्षा छैन । सडक बाटो छैन । रोजगारी छैन । छन् त केवल गरिबी, अन्धविश्वास, जातीय छुवाछुत र विभेद । पश्चिम नेपालको यिनै समस्या ‘अछेता’को मुख्य कथावस्तु हो ।

समग्रमा, अछेता कर्णालीको सामाजिक, आर्थिक र सांस्कृतिक ऐना बन्न सफल भएको छ । यो सत्ताका लागि प्रश्न र चेतावनी पनि हो । यसले एकातिर त्यहाँको सुन्दर संस्कृतिलाई देखाउँछ भने अर्कोतिर जातीय विभेद र राज्यको पहुँचभन्दा टाढा रहेको अभावग्रस्त जीवनको तितो यथार्थलाई चित्रण गर्छ ।

तस्वीरहरू: कान्तिपुर थिएटर

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?