Comments Add Comment

भूकम्पको मासिकी : नेताले बिर्से संविधान निर्माण

Main-Leaders

  • राष्ट्रिय पुनर्निर्माण समितिको बैठकमा नेताहरु

१२ जेठ, काठमाडौं । भूकम्पले देशलाई तहस-नहस पारेको मंगलबार ठीक एक महिना पुगेको छ । दलका नेताहरु यतिबेला मजदुरले लगाउने ‘ह्याट’ लगाएर गाउँ पसेका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले चाँहि भूकम्प आएको एकमहिना पुगेका बेला प्रमुख दलका नेताहरुलाई संविधान निर्माणबारे ध्यानाकर्षण गराएका छन् ।

वैशाख १२ गते मध्यान्ह हुनुअघिसम्म संविधानका नाममा आरोप-प्रत्यारोप गरिरहेका दलका नेताहरुले यो एक महिनाका बीचमा एकपटक पनि संविधान शब्द ओकलेका छैनन् । यस्तो लाग्छ, भूकम्पले नेताहरुको मनबाट संविधान नामको काँडा नै पन्छाइदिएको छ ।

संविधानसभाका नेताको हैसियतले सभाध्यक्ष नेम्वाङ भने अब पुनः संविधान निर्माणको प्रक्रिया सुरु गर्न बाध्य छन् । उनले भूकम्प अघि नै वैशाख २५ गते संविधानसभा बैठकको मिति तोकेका थिए । तर, भूकम्पले संविधानसभाको कार्यसूचीलाई समेत खल्बल्यायो ।

यदि वैशाख १२ गते भूकम्प नआएको भए यसबीचमा प्रश्नावलीमाथि मतदान भएर मस्यौदामा जाने वा नयाँ सहमति हुने थियो । भूकम्पले देश हल्लाएपछि संविधानमा रहेका विवादलाई पनि नराम्ररी हल्लाइदियो ।

भूकम्पलाई मौकाका रुपमा प्रयोग गरौं : नेम्वाङ

‘भूकम्पले सत्तापक्ष र प्रतिपक्ष दुबैलाई संविधानको विषयमा राम्रो बहाना दिएजस्तो देखिन्छ’ नेम्वाङले भने, ‘वास्तवमा संविधानमा सहमति गर्ने र तत्काल संविधान जारी गर्ने यो सबैभन्दा सहज र उपयुक्त अवसर पनि हो’ ।

सभाध्यक्ष नेम्वाङले वैशाख २५ को संविधानसभा बैठक जेठ १७ गतेलाई सारेका थिए । यसबीचमा उनले प्रमुख दलका शीर्ष नेताहरुसँग अब के गर्ने भनेर सोधेका थिए । ‘तर सबै नेताहरु मौन छन्’ नेम्वाङले भने ।

भूकम्पको विपत्तिले सबै दलहरुबीच भावनात्मक एकता भएको यही मौकामा संविधानमा बाँकी विवादमा पनि सहमति जुटाउने राम्रो संकेत देखिएको महसुस नेम्वाङले गरेका छन् ।

सिंहदबारस्थित आफ्नै कार्यकक्षमा नेम्वाङले भने-‘धेरै विषयमा विवाद बाँकी छैन भन्छन्, नेताहरु सबै सकारात्मक छन् । संघीयतामा पनि अब सीमांकन, रेखांकन र नामांकनका लागि विशेषज्ञको आयोगलाई जिम्मा दिन लगभग सबै सहमत भएको देखिन्छ ।’

यस्तो आयोगलाई जिम्मा दिदा प्रदेशको संख्या चाहिँ पहिलेनै ८ भनेर किटान गरिनुपर्ने एमाओवादी नेतृत्वको मार्चाले माग राखेको छ । देश नवनिर्माण र पुनःनिर्माणको अभियानमा दलहरु एक जुट भएका बेला संविधान निर्माणमा पनि एकजुट भएर यही मौकामा टुंगो लगाउनुपर्ने नेम्वाङको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment