Comments Add Comment

सभामुखको कार्यकक्षमा ओली र प्रचण्डको गोप्य वार्ता

फाइल तस्वीर

  • एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड । (फाइल तस्वीर)

२१ जेठ, काठमाडौं । चार प्रमुख राजनीतिक शक्तिको बैठक बस्नुअघि दुई ठूला वामपन्थी दल नेकपा एमाले र एनेकपा माओवादीका अध्यक्षबीच विहीबार बिहानै लामो छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल तथा एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई बीच भएको छलफलको सहमतिलाई गोप्य राखिएको छ । यद्यपि सभामुख सुवास नेम्वाङको कार्यकक्षमा डेढ घण्टा लामो वार्तापछि निस्किएका नेताहरू उत्साहित मुद्रामा थिए ।

अध्यक्ष ओलीले एमालेका केही पदाधिकारीहरुसँग प्रचण्डसँगको छलफल सकारात्मक भएको र विगतमा जस्तै प्रचण्ड सहमतिबाट पछि नहटे साँझसम्म संविधानमा सहमति हुने जनाउ दिएका छन् ।

ओली र नेपालसँगको वार्तापछि प्रचण्डले ३० दलीय मोर्चाको बैठक बोलाएका छन् । प्रचण्डले ओलीसँगको छलफलमा ६ प्रदेशमा सैद्धान्तिक सहमति जनाए पनि नक्शासमेत स्पष्ट गरेर जाऔं भन्ने प्रस्ताव राखेका थिए । ओलीले चाँहि सबै जिम्मा आयोगलाई दिएर अघि बढ्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

‘संघीयतामा जातीय र सांस्कृति पहिचान संरक्षण हुने गरी ६ प्रदेश बनाउने र तीनको नाम प्रदेश सभाले राख्ने सहमति भएको छ’ ओलीको भनाइ उधृत गर्दै ती पदाधिकारीले भने ‘प्रदेशको सीमांकन संविधानसभाले बनाउने विज्ञहरुको आयोगले गर्नेछ ।’

दुई नेताबीच सहमतिमै संविधान जारी गरेर देशलाई पुनर्निर्माणको अभियानमा लैजाने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन गरी सबै दल सामेल हुने सहमति भएको स्रोतले जनाएको छ ।

निर्वाचन प्रणालीको हकमा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित र ४० प्रतिशत समानुपातिक हुने कुरामा कांग्रेस एमाले एकमत भए पनि माओवादीले अन्य दलको पनि राय लिन खोजेको छ ।

यस अघि कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच २ सय ५ सदस्यीय प्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रिय सभा बनाउने र त्यसमा ६० प्रतिशत प्रत्यक्ष निर्वाचित प्रतिनिधि हुने सहमति भएको बताइएको छ ।

यी दलबीच समानुपातिक निर्वाचन प्रणालीमा सभासद पाउन कुल मतको ५ प्रतिशत पाउनुपर्ने गरी थ्रेस होल्ड राख्ने सहमति भएको छ । ओलीले यही कुरा प्रचण्डसँगको छलफलमा पनि राखेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment