Comments Add Comment

सर्पको गुँडमाथि सुतेर चलाइयो स्वयंसेवी कम्युन

राजिव पहारी, महासचिव युवा संघ नेपाल

सिन्धुपाल्चोकको हैबुङमा विद्यालय भवन हस्तान्तरण गरेर हिड्ने बेलामा त्यहाँका कांग्रेस कार्यकर्ता श्रीलाल तामाङले एमालेका युवा संघले लाएको गुन कहिल्यै बिर्सने छैनौं भन्दा पो थाहा भो, वास्तवमा हामीले भूकम्पले तहस नहस भएका गाउँ बस्तिका जनतालाई साँच्चिकै ठूलो गुन लाएछौं ।

Haibung-yuba

पार्टीको आदेश अनुसार राष्ट्रिय स्वयंसेवक अभियानका क्रममा युवा संघको टोली नम्बर १ को कमाण्डरको हैसियतले युवा संघका जुझारु साथीहरुलाई लिएर सिन्धुपाल्चोकको क्षेत्र नम्बर ३ का लागि जेठ १० गते प्रस्थान गरेका थियौं । विनाशकारी भूकम्पले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुगेको ठाउँमा गएर राहत,उद्दार र पुननिर्माणको काम गर्नु चुनौतिपूर्ण र जोखिमपूर्ण पनि थियो । तर चुनौति मोल्न रुचायौं हामीले ।

निराश बस्तिमा पहिलो क्याम्प

पार्टीले पनि सबैभन्दा चुनौतिपूर्ण ठाउँमा युवा संघ जानुपर्छ भन्यो । सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सभासद एबम् एमाले केन्द्रीय सदस्य शेरवहादुर तामाङको सुझाव अनुसार हामीले सबैभन्दा पहिले मेलम्चीलाई केन्द्र बनायौं । मेलम्ची ध्वस्त  थियो र सबैभन्दा बढी मानिसको ज्यान गएको थियो । गाउँहरुले हामीलाई सघाउने त के बाहिर निस्कन समेत सकेका थिएनन् ।

हामीले खोला किनारामा आधार शिविर खडा गर्‍यौं । त्यसपछि पहिलो प्राथमिकता ध्वस्त भग्नावशेषबाट जनताका महत्वपूर्ण सामान झिक्ने र विद्यालय सन्चालन हुन लागेकाले ध्वस्त विद्यालय पुननिर्माणलाई दियौं । गएको पहिलो रातमै यति ठूलो आँधीहुरी आयो कि,हाम्रो आधार शिविरमा टाँगिएका सबै पाल उडायो । पानी र हुरीमा रातभरी हामी खोलाको किनारामा बसेर विहानको प्रतिक्षा गर्‍यौं । मेलम्चीको बेस क्याम्प छाडेर भोटेचोरमा आउनका लागि सामान उठाउने क्रममा हामी सुत्ने म्याटेस मुनि ७ ओटा सर्प मरेका रहेछन् । साथीहरु सर्पमाथि सुतिएछ भने पछि पो डराउन थाले ।

जनता बाहिर आए

गाउलेहरुकोमा सहारा लिने अवस्था थिएन । युवा संघका साथीहरुले हिम्मत हार्नु भएन । हामीले विद्यालयका ध्वस्त संरचना हटाउदै अस्थायी भवन बनाउने क्रम अघि बढायौं । हामीले मेलम्चीलाई बेस क्याम्प बनाएर त्यस वरपर तीन चार घण्टाको दूरीसम्म पुगेर विद्यालय बनायौं । शुरुमा चुपचाप बसेका स्थानीय हाम्रो निरन्तर मेहनत र दुःख देखेर बिस्तारै बाहिर निस्किए ।

हामी जाउन्जेल त्यहाँका अभिभावक, शिक्षक, विद्यार्थी कोही पनि विद्यालयसम्म पुग्ने अवस्था थिएन । हामीले जोखिम मोल्यौं । विस्तारै जनतामा पनि आत्मवल बढ्न थाल्यो । हामीले काम मात्र गरेनौं, जनतालाई अब आउनुस, सामान्य जीवनमा फर्किनुस, हामी साथमा छौं भनेर ढाडस पनि दियौ । हामी शुरुमा जाँदा निराश, हतास अवस्थामा रहेका जनता हामी हिड्ने बेलासम्म पूरै पूर्ववत जीवनमा फर्कान सफल भइयो ।

जुन हामीले बनायौं

हामीले इन्द्रेश्वरी क्याम्पस मेलम्चीको भग्नावशेष हटाएर नयाँ भवन बनायौं ।  त्यस्तै जालापदेवी उच्च मावि बाहुनपाटी, कालिका मावि बाँसबारी, जनता मावि ज्यामिरे, बालसुधार उच्च मावि शिखरपुरका भग्नावशेष हटाएर पठनपाठन सुचारु हुने गरि नयाँ भवन बनाइदियौं ।

यी ठाउँमा माधवकुमार नेपाल, इश्वर पोखरेल, शंकर पोखरेल लगायतका नेताहरुले अनुगमन पनि गर्नुभयो हाम्रो कामको ।

Haibung-Mavi

हामीले बालज्योती प्रावि लागार्चे, निबु गाउँ निमाबि भोटेचौर, हैबुङ महादेवस्थान मावि, जलापा उच्च मावि भोटेचौर, ठूलो थकनकी मावि धकनी, धौलेश्वरी निमावि थकनी, चिप्लिङ प्रावि थकनीका भवनहरु बनायौं । कक्षा कोठाहरु बनाउनुको साथै रंगरोगन पनि गरेका छौं । यसबीचमा असहाय, गरीव र अशक्त व्यक्तिका छननेर एक सय सातओटा अस्थायी घर बनाइदियौं सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा ।

फौजी ब्यारेकको अनुभव

हामी शुरुदेखिनै फौजी हिसाबले बस्यौं र काम पनि फौजी ढंगलेनै गरियो । काम गर्न टाढा टाढाका गाउँसम्म गए पनि हाम्रो बसोबास अस्थायी ब्यारेकमै भयो । कम्तिमा २५ देखि बढिमा ८५ जनासम्मको फौज थियो । हामीले कम्युन शैलीमा खाना पकायौं । एक प्रकारको अस्थायी कम्युन थियो त्यो । पार्टीले शुरुमा दाल चामल र आलु मस्यौरा दिएको थियो । अरु हामीले आफैं व्यवस्था गर्‍यौं । विहानै ५ बजे सेनाकै जस्तो रोलकल, लालसलामको सलामी र परेड गरियो । फौजी अनुशासनमा बसेर युवा साथीहरुले हामी आवश्यक  पर्दा जनतालाई जस्तासुकै विपतको बेला पनि सघाउन सक्छौं भन्ने प्रमाणित गर्नुभयो ।

जोखिमपूर्ण संरचना हटाउने र नयाँ बनाउने क्रममा धेरै साथीहरु घाइते हुनुभयो । म आफैं चर्को घाममा काम गर्दा गर्दै एक दिन बेहोस भएछु । हामीमा जोश थियो तर यस्तो काममा बिल्कुल नयाँ थियौं । कसैलाई पनि घर बनाउने कामको खास अनुभव थिएन । हात नकाटिएका र घाउ नभएका कुनै साथी थिएनन् । तर पनि पार्टीले खटाएको काममा अब्बल भएर निस्कनुपर्छ भन्ने उच्च मनोबल थियो । हाम्रो टिम २६ दिनसम्म निरन्तर मैदानमा खटियो, जुन पार्टीकै नेताहरुका अनुसार पनि एकमात्र त्यस्तो टिम हो ।

हातपातको प्रयास

हामीले यसबीचमा जनताको निराशाका कारण धेरै ठाउँमा एक्लो पनि महशुस गर्‍यौं । कतिपय ठाउँमा जनताको अपार समर्थन पाइयो भने कतिपय ठाउँका स्थानीयले साथ दिएनन् । हैबुङमा स्थानीय जनताको माग अनुसार स्कूल बनाउदै गर्दा केही आवाराहरुले रक्सी खाएर निहु खोज्न आए । हाम्रो एकजना साथीलाई कुटेर घाइते पनि बनाए । तर हामीले हात छाडेनौं । हामीले चाहेको भए जे पनि गर्न सकिन्थ्यो तर त्यसो गर्दा पार्टीको समग्र राष्ट्रिय अभियानमाथिनै आरोप लाग्न सक्ने भएकाले हामीले संयम अपनायौं ।

नेताको मुल्यांकन

Gokarna-bista

यस दौरानमा बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, स्वयंसेवक कमाण्डर तथा सचिव गोकर्ण विष्ट, सचिव प्रदिप ज्ञवाली, उद्योगमन्त्री महेश बस्नेत, स्थायी कमिटी सदस्य अमृत बोहोरा, शंकर पोखरेल, पोलिटव्यूरो सदस्य तथा युवा इन्चार्ज शेरधन राई, अरुण नेपाल, केन्द्रीय नेताहरु ठाकुर गैरे, सूर्य थापा, शेरवहादुर तामाङ, हाम्रो अध्यक्ष निरु पाल लगायतका नेताहरुले हाम्रो कामको निरन्तर अनुगमन गर्नुभयो ।

उहाँहरुले युवा संघको एक नम्बर टोलीले उत्कृष्ट काम गरेको मूल्यांकन गर्दा हामीले राम्रो गरेछौं भन्ने लाग्यो । हामी अझै सिन्धुपाल्चोकमा खटिन चाहान्थ्यौं तर स्थानीय पार्टीले अब पुग्यो भनेकाले उहाँहरुको सम्मान र प्रशंसापत्र बोकेर काठमाडौं आइपुगेका छौं ।

जो निरन्तर मैदानमा रहे

मलाई यो उत्कृष्ट काममा सघाउने युवा साथीहरु सदैव धन्यवादमा पात्र हुनुहुन्छ । यसक्रममा एक दिन पनि नछुटाई निरन्तर जनताको सेवामा खटिने ३७ जना कमरेडहरु सबैको नाम उल्लेख गर्न सम्भव छैन । तर पनि डेपुटी कमाण्डर तथा युवा संघका सचिवलाय सदस्य सन्जिव झा जो मधेशको साथी पहाडमा पूरै दिन खटिनुभयो । त्यस्तै युवा संघकै सचिवालय सदस्य सिन्धुपाल्चोककै स्थानीय अशोक चौलागाई, सचिवलाय सदस्य सुमन पुरी, अन्तरजिल्ला अध्यक्ष रामेछापका जय गुरुङको उत्साह प्रशंसनीय रहृयो ।

प्युठानका इश्वर थापा प्युठान, उमेश कुँवर, अर्घाखाँचीका सुशील भट्टराईका साथै नवराज गुरुङ,सूर्य तामाङ, सुशील खनाल, देवान मल्ल, पूर्ण खड्का, बलराम बेल्बासे, दिनेश ढकाल लगायतका धेरै साथीहरुले वास्तवमा कुशल शिल्पी बनेर जनताका घर र स्कूल भवन बनाउनुभयो ।  अब हामीमा एउटा आत्मबल बढेको छ । त्यो के भने-कुनै पनि बिपत्तिका बेला जनतालाई सघाउन युवा संघका कार्यकर्ता कुशल उद्दारकर्मी र शिल्पी बनेर गाउँ बस्तिमा जान सक्षम छन् । हामीलाई आदेश आउनासाथ फौजी शैलीमा जनताको बस्तिमा पुग्न तयार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment