Comments Add Comment

महाकाली नदीको पानी सीधै पिउन अयोग्य

९ चैत, डडेल्धुरा । नेपाल-भारतको सीमा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ । शुद्धीरण मापन गर्दा महाकाली नदीको पानी सीधै पिउन योग्य नरहेको पाइएको हो ।

शुक्रबार विश्व पानी दिवसका अवसरमा पहिलो पटक महाकाली नदीमा मिसिने नेपाल र भारतका खोलाको पानीको शुद्धता गुणस्तर मापन गरिएको थियो । नेपालतर्फ परशुराम नगरपालिका-५ को रंगुन पन्तुरा खोला र भारतको उत्तराखण्डअन्तर्गत चम्फावत जिल्लाको कालीगुँढ पूर्णागिरि ग्रामपञ्चको चल्थी नालाको महाकाली नदीमा मिसिने स्थानबाट नमूना संकलन गरी जाँच गर्दा महाकालीको पानी सीधै पिउन अयोग्य रहेको वातावरणविद कृष्णदेव जोशीले बताए ।

पानी माथिको सुशासनका लागि महाकाली नदी किनारका क्षेत्रमा काम गर्दै आएको रुडुक अन्तर्गतको ट्रोसा परियोजनाको प्राविधिक सहयोगमा पहिलोपटक महाकाली नदीको पानीको शुद्धता मापन गरिएको परशुराम नगरपालिका-६ का वडाध्यक्ष मिनबहादुर चन्दले बताए ।

पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधिमध्ये सामान्यतया दूषित रहे नरहेको पत्ता लगाउने पाँच वटा विधि अपनाइको थियो । ‘सामान्य तथा स्थानीयहरुले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानीमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा खान योग्य नरहेको अर्थात् दूषित पाइयो,’ वातावरणविद जोशीले भने ।

जोशीका अनुसार पिएच (पानीको गुणस्तर महत्व) ८ दशमलव २ पाइएको छ । यो उच्चतम ७ सम्म भए पानी उपयोग गर्न सकिन्छ । यसैगरी टिडिएस (पानीमा घुलित तत्व) ७४ पीपीएम पाइएको छ, जुन शून्यदेखि ५० अंकसम्म भए प्रयोग गर्न सकिने रुपमा लिइन्छ ।

महाकाली नदीको पानी सीधै पिउन प्रयोग गर्न नमिल्ने तर उमालेर वा फिल्टर गरेर गर्न सकिने खालको पाइएको छ । जोशीले भने, ‘रंगुन पन्तुरा खोलाकै दोस्रो स्थान र भारतको चल्थी नालामा पनि एक-दुई अंकको तल माथि रहेकाले दूषित नै रहेको छ ।’

बाँकी शुद्धताको गुणस्तर मापन गर्न धनगढीस्थित प्रयोगशालामा पठाइएको छ । जोगबुढा तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पानीको शुद्धता गुणस्तर मापन गर्ने ल्याब नभएका कारण नमूना संकलन गरी कैलालीको धनगढी पठाइएको हो । ‘पानीमा कुन-कुन घुलित पदार्थ छ ? कुहिने कति छ ? लगायतका जानकारी ल्याव टेष्टबाट प्राप्त हुने भएकाले पानीको नमूना संकलन गरेको २४ घण्टाभित्र ल्याबमा राखी पाँच दिनभित्र जानकारी लिन सकिन्छ,’ जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment