Comments Add Comment

पाँच किसानलाई राष्ट्रपति कृषक पुरस्कार

Kisan-Samman

  • राष्ट्रपति उत्कृष्ट किसानको सम्मान पाएकाहरु । तस्वीर : रासस

१५ असार, काठमाडौं । राष्ट्रिय धान दिवसको अवसर पारेर सरकारले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच जना किसानलाई राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान गरेको छ ।

टिकापुर-७ कैलालीका कालु हमालले सर्वोत्कृष्ट किसानको सम्मान पाएका छन् । केरा व्यवसायी हमालले नगद २ लाख रुपैयाँ पाएका छन् ।

यस्तै भिरगाउँ-१ धनकुटाका चन्द्रलाल तामाङ, लेखनाथ-२ कास्कीका छयामबहादुर थापा, सोरहवा-२ बर्दियाका छायादत्त भुसाल र चित्रवन-७ चितवनका प्रकाश पन्तले १ लाख रूपैयाँको उत्कृष्ट किसानको सम्मान पाएका छन् । तामाङ अलैंची व्यवसायी, थापा बंगुर व्यवसायी, भुसाल माछा व्यवसायी र पन्त फूल व्यवसायी हुन् ।

राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले मंगलबार गरेको कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उनीहरुलाई सम्मान गरेका हुन् ।

कृषि र किसानलाई सम्मान गर्ने उद्देश्यले सरकारले यसै बर्षदेखि सर्वोत्कृष्ट र उत्कृष्ट किसानलाई सम्मान गर्न सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment