Comments Add Comment

प्रेम विवादले मणिपालका डाक्टरको रहस्यमय मृत्यु

सन्देश श्रेष्ठ

२० असार, पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरामा इन्टर्न गर्दै गरेका चिकित्सक अनिमेश ठाकुरको शनिबार राति रहस्यमय मृत्यु भएको छ । महोत्तरीको ढिरापुर घर भइ मणिपालमै एमविविएस सकेर इन्टर्न गर्दै गरेका २५ वर्षका ठाकुरको गएराती करिब पौने १० बजे घरको छतबाट खसेर मृत्यु भएको हो ।

मृतक अनिमेश स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा.गरिबदास ठाकुरका छोरा हुन् ।

Manipal_Teaching_Hospitalइन्टर्न गर्दै गरेका अन्य साथीहरु र उनका बुवाले अनिमेशको हत्या भएको बताएका छन् । तर प्रहरीले भने आत्महत्या गरेको हुन सक्ने बताएको छ । यद्यपी प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

मृतक अनिमेश र उनकी प्रेमिकाबीच केही दिनदेखि विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी श्रोतको भनाइ छ । अनिमेशले पछिल्ला केही दिनदेखि अर्कै प्रेमीसँग लागेको भन्दै प्रेमिकासँग विवाद गर्दै आएका थिए ।

शनिबार राति पनि अनिमेश प्रेमिकाकै कोठामा गएका थिए । सो क्रममा उनीहरुबीच पुनः विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालले बताए । उनले हत्या गरेको कुनै प्रमाण नभेटिएको र घटनाको प्रकृति पनि त्यस्तो नदेखिएको पालले बताए ।

तर साथीहरुले भने अनिमेशले आत्महत्या गरेको नभइ कसैले धकेलेर हत्या गरेको बताएका छन् । प्रेमिकासँग विवाद भइरहेका समयमा कसैले धकेलेको हुनसक्ने उनीहरुको भनाइ छ ।

अनिमेशका बुबा डा. गरिबदास ठाकुरले भने कसैले हत्या गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथी कार्वाहीको माग गर्दै जाहेरी दिएका हुन् । उनको जाहेरीमा किटानी जाहेरी भने दिइएको छैन ।

मृतक अनिमेशको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । पोष्टमार्टमपछि परिवारलाई शव बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment