Comments Add Comment

राप्रपा नेपालद्वारा देशव्यापी आन्दोलन घोषणा

Kamal-Thapa

२० असार, काठमाडौं । राप्रपा नेपालले बहुमतको आडमा संविधान निर्माणमा भैरहेको मनोमानीको विरोध गर्न र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै देशब्यापी आन्दोलन घोषणा गरेको छ ।

केन्द्रीय कार्य समितिको बैठकले गरेका निर्णय अनुसार अनिश्चितकालीन राजधानी केन्द्रित आन्दोलन लगायतका कार्यक्रम गर्ने राप्रपा नेपालले जनाएको छ ।

आइतबार सार्बजनिक आन्दोलनका कार्यक्रम अनुसार राप्रपा नेपालले यही असार २२ सबै जिल्ला सदरमुकामहरुमा जुलुस, प्रदर्शन तथा सभाहरु गर्ने छ । सोही दिन काठमाडौं उपत्यकामा भने तिनै जिल्लाको संयुक्त जुलुस बबरमहलबाट शुरु गरी संविधानसभा भवन अगाडि पुगेर धर्ना दिइने छ ।

साउन पहिलो हप्तादेखि अनिश्चितकालिन राजधानी केन्द्रित संघर्ष गरिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा धर्मसभा

राप्रपा नेपालले निकट भविष्यमा काठमाडौंमा बृहत सनातन धर्मसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी साउन १ गतेदेखि हरेक वडामा ‘राप्रपा नेपाल राष्ट्रिय अभियान’ संचालन गर्ने, युवक, बिद्यार्थी र ट्रेड युनियनहरुको केन्द्रीय अधिवेशन कार्तिक महिना भित्र सम्पन्न गर्ने तथा भूकम्प पीडितहरुका लागि १ करोड रुपैयाँको सहायता कोष खडा गर्ने निर्णय बैठकले गरेको छ ।

हिन्दुराष्ट्र लगायत पार्टीका अन्य एजेण्डाहरु स्थापित गर्न संविधान निर्माणको अन्तिम समयसम्म संविधानसभामा पार्टीका सभासदहरुलाई सशक्त भुमिका निर्वाह गर्न निर्देशन समेत दिइएको छ ।

संविधान निर्माणको क्रममा केही सीमित राजनैतिक दलहरुले संविधानसभालाई रबर स्ट्याम्पको रुपमा प्रयोग गर्ने, अन्तरबस्तुहरुमा पर्याप्त छलफल गर्न नदिने, नियमावली निलम्बन गर्ने, संविधान मिच्ने तथा सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्ने जस्ता कार्य भैरहेकोप्रति केन्द्रीय कार्य समितिको बैठकले खेद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment