Comments Add Comment

इलामका चार गाविसमा रेडपान्डा संरक्षण सुरु

red_panda
२२ असार, इलाम । इलामका चार गाविसमा रेडपान्डा (हाब्रे) संरक्षणको कार्य सुरु भएको छ ।

रेडपान्डा संरक्षणका लागि कार्यरत संस्था रेडपान्डा नेटवर्क र उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाले जमुना, जोगमाई, प्याङ र मावु गाविसमा विशेष संरक्षण अभियान सुरु गरिने संस्थाका कृष्ण राईले बताए ।
यी गाविसको तीन हजार ७७० हेक्टर क्षेत्रफलमा रेडपान्डाको संरक्षण कार्य, संरक्षण कार्यमा स्थानीयवासीलाई अग्रसर गराउन उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने र संरक्षणका लागि जनचेतना अभिवृद्धिलगायत कार्यक्रम गरिने रेडपान्डा नेटवर्कका सोनाम टासीलामाले जानकारी दिए ।

चार गाविसमा ५१ लाख ५० हजार रूपैयाँको लागतमा रेडपान्डाको बासस्थान सुधार, खुल्ला चरिचरन नियन्त्रण, सामुदायिक वनको कार्ययोजनामा समावेश गर्न संरक्षण क्षेत्रको स्थापनालगायत काम गरिने उच्च पहाडी उत्पादक तथा संरक्षण संस्थाले जनाएको छ । यसैगरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउन जैविकखेतीबारे तालिम, पोली हाउस निर्माण, घरबास कार्यक्रमका लागि तालिम र हस्तकलाका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरिने छ ।

इलामका सात गाविसमा २३ देखि ४० को हाराहारीमा दुर्लभ रेडपान्डा रहेको अनुमान गरिएको छ । रेडपान्डा संरक्षण गर्न नेटवर्कको सहयोगमा प्रत्येक गाविसमा एकदेखि तीन जनासम्म गरी १४ वन अभिभावक राखिएको छ । रेडपान्डा संरक्षणका लागि संरक्षण संस्थाले उच्च कोटीका क्यामेरा जडान गरेको छ । हेर्दा अति लजालु स्वभाव भएको, रूखका हाङ्गामा बस्ने गर्छ । यतिबेला रेडपान्डाको प्रजनन समय भएकाले तीन महिनासम्मका लागि जमुनाको चोयाटार सामुदायिक वनले पर्यटक आवतजावतमा रोक लगाएको स्थानीयवासी कुमार गुरुङ बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment