+
+

कृषि तथा पशुजन्य वस्तुमा निकासी कर

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २७ गते १३:०२

२७ असार, खोटाङ । जिल्लामा पहिलोपटक निकासी कर लागू गरिएको छ । जिल्ला विकास समितिले जिल्लाबाट निकासी हुने कृषि उपज, पशुपक्षी तथा खानीजन्य वस्तुको निकासी कर लागू गरेको हो ।

यस आर्थिक वर्षबाट अलैँची, सुन्तला, अम्रिसो, गुच्छीच्याउलगायत कृषिजन्यवस्तु तथा गाईगोरु, सुँगुर, खसीबाख्रा निर्यातमा कर लागू गरिएको हो । स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार जिल्लाभित्रका विभिन्न नदीनालाबाट निकासी हुने ढुङ्गा, गिट्टी र बालुवा बिक्री तथा निकासीमा समेत कर लाग्ने भएको छ ।

गुच्छी च्याउमा प्रतिकिलो १०० रूपैयाँ, अम्रिसो र गाईगोरु निकासीमा ५०/५० रूपैयाँ, सुन्तलामा प्रतिक्विन्टल २० रूपैयाँ, सुँगुर र खसीबाख्रा निकासीमा प्रतिवटा २०/२० रूपैयाँ तथा अलैँचीमा प्रतिकिलो चार रुपैयाँका दरले निकासी कर लाग्ने छ ।

जिल्लाबाट निकासी हुने कृषिजन्यवस्तु तथा पशुपक्षीमा कर उठाउन आह्वान गरिएको ठेक्का स्वीकृत भइसकेको सापकोटाले बताए ।

गत फागुन १३ गते सम्पन्न २२औँ जिल्ला परिषद्बाट कृषिजन्य वस्तु तथा पशुपक्षीमा कर लगाउने निर्णय गरिएको थियो ।

जिविसले स्थानीय शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियामावली, २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियामवली २०६४ अनुसार आन्तरिक आयस्रोतमा आयआर्जन गर्ने गरी गत जेठ १४ गते कृषिजन्य वस्तुमा भ्याटबाहेक वार्षिक रु १० लाख र पशुपक्षीतर्फ वार्षिक रु एक लाखको टेन्डर आह्वान गरेको थियो । जिविसका अनुसार पशुपक्षीतर्फको कर उठाउने ठेक्का जिल्लाकै सुसेली सप्लायर्स याम्खाले लिएको छ ।

जिविसका अनुसार कृषिजन्यतर्फको कर सङ्कलन गर्ने ठेक्का भने कसैले लिएको छैन । ठेक्का नलागेपछि तोकिएको न्यूनतम रकमको पुनरावलोकन गरेर ठेक्का पुनः आह्वान गर्ने तयारी गरिएको सापकोटाको भनाइ छ ।

गिट्टी, बालुवा र ढुङ्गाको करका लागि केही समयपछि ठेक्का आह्वान गरिने छ । यसअघि जिल्लामा निकासी कर लागू नहुँदा करोडौँको आम्दानी गुम्ने गरेको थियो । जिल्लामा यस वर्ष मात्रै रु ८४ करोडको अलैँची निकासी भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?