+
+

कर्मचारी नेता भन्छन्- तलब बढेन, यस्तो बजेट कार्यान्वयन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३० गते १२:१५

३० असार, काठमाडौं । सरकारले एक रुपैयाँ पनि तलब नबढाएपछि निराश बनेका कर्मचारीहरुले अब काम नगर्ने र बजेट कार्यान्वयन नहुने कर्मचारी नेताहरुले चेतावनी दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

बजेट कार्यान्वयन गर्ने निकाय नै कर्मचारी प्रशासन भएकाले उनीहरुको मनोबल नउकासेसम्म बजेट कार्यान्वयन नहुने उनीहरुको तर्क छ ।

सत्तारुढ कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटाले तलब नबढ्दा कर्मचारीहरु हतोत्साही भएको अनलाइनखबरलाई बताए ।

‘महंगी आकासिएको छ, त्यसैले तलब पनि बढ्नु पर्ने हो,’ देवकोटाले अनलाइनखबरसँग भने, ‘बजेट कार्यान्वयन गर्ने कर्मचारीहरुको मनोबल नउकासेर कसरी हुन्छ ?’

उनका अनुसार विगत दुई बर्षदेखि कर्मचारीहरुको तलब बढेको छैन । यसपटक पनि तलब नबढ्दा कर्मचारीको कार्यक्षमतामा ह्रास आउँछ ।

बजेट सकारात्मक छैन : पोखरेल

यसैवीच एमाले निकट कर्मचारी संगठनले पनि तलब नबढाएको भन्दै बजेटको आलोचना गरेको छ । ‘तलब समायोजन हुँदै जानुपर्ने हो, तर त्यसो भएन,’ एमाले निकट नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष एवं सल्लाहकार भोला पोख्रेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीहरुले राम्रो काम गर्लान् भन्ने मलाई लाग्दैन ।’

बजेट कार्यान्वयन नहुनुमा कर्मचारीहरुको तलबमान एउटा मुख्य कारण भएको पोखरेलले बताए । सरकारले ल्याएको बजेटलाई सकारात्मक मान्न नसकिने उनले बताए ।

झट्ट हेर्दा केही राम्रा कार्यक्रम देखिए पनि खर्च गर्ने संरचना र योजना नबनाइएको उनको भनाइ छ ।

‘पुनर्निर्माण प्राधिकरण बनाउने भनिएको छ, तर बजेटमा कुनै कुरा आएन,’ उनले भने, ‘उल्टै मन्त्रालयहरुले १७ अर्ब खर्च गर्न पाउने कुराले प्राधिकरण ओझेलमा पर्ने हो कि जस्तो देखियो ।’

आर्थिक बर्ष ०७२/७३ मा पुनर्निर्माणका लागि ७४ अर्ब रुपैयाँ छुट्टाइएको छ भने थप १७ अर्ब रुपैयाँ मन्त्रालयहरुले नै खर्च गर्ने गरी व्यवस्था गरिएको छ ।

पुनर्निर्माणको कुनै योजना नभएकाले खर्च हुनेमा आशंका रहेको पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?