Comments Add Comment

लडाकू भ्रष्टाचारको पोल खोल्ने प्रविना आइसीयुमा !

विनोद घिमिरे

५ साउन, काठमाडौं । मुक्ति या मृत्युको कसम खाएर जनयुद्धमा होमिएकी प्रविना गोले ‘नमूना’ले सिन्धुपाल्चोकको ठोकर्पा भिडन्तमा बायाँ हात गुमाइन् । अहिले उनले आफूलाई साथ दिने कोही पाइनन् ।

Prabina-Gole-1
आईसीयूमा हुनु अघि अस्पतालको बेडमा प्रविना

नमूनाजस्ता योद्धाहरुको योगदानकै कारण एमाओवादी ०६४ सालमा देशकै ठूलो पार्टी बन्यो । तर, तिनै प्रविना अहिले अस्पतालमा मृत्युसँग संघर्ष गरिरहँदा पार्टीले भने बेवास्ता गरेको छ ।

उनमा नसा र हाडको समस्या छ । अहिले रोगले च्याप्दै गएर कम्मरदेखि तलको भाग चल्दैन । ललितपुरको बीएण्डबी अस्पतालमा उपचाररत उनी आईसीयूमा छिन् ।

जनयुद्धमा हात गुमाएकी उनलाई अहिले पार्टीको साथ गुमेको महसुस भएको छ । एमाओवादी टुक्रिएर पाँच टुक्रा भए पनि प्रविनाको उपचारमा कुनै पनि पार्टीका नेताहरुले सहयोग गरेका छैनन् । उपचारमा खर्च अभाव भएपछि पार्टीका केही युवाहरुले पैसा जुटाउन फेसबुकमार्फत् अभियान चलाएका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपेश पुनले भने, ‘उपचार गर्दागर्दै ४-५ लाख रुपैयाँ सकिएछ । खर्च अभाव भएपछि फेसबुकमार्फत् अभियान चलाएका छौं, पार्टीमा पनि कुरा पुर्‍याएका छौं ।’ दीपेशले व्यक्तिगत रुपमा २० हजार सहयोग गरेका छन् ।

लडाकूदेखि सञ्चारकर्मीसम्म

Prabina Gole 3

जन्मघर ललितपुरको चन्दनपुर र कर्मघर मकवानपुरको हेटौडा भएकी प्रविनाले सिन्धुपाल्चोकको ठोकर्पा कारवाहीका क्रममा सेनाले प्रहार गरेको मोर्टार लागेर एउटा हात गुमाउन पुगिन् । शान्ति प्रक्रियासँगै उनी चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा थिइन् ।

बहिर्गमनमा परेपछि उनी सञ्चारकर्मी बनिन् । सरकारले भरणपोषणका लागि दिएको २ बर्षको तलब तत्कालीन डिभिजन कमाण्डर धनबहादुर मास्की ‘राजेश’ले झ्वाम पारेको खबर उनले सार्बजनिक गरिन् ।

मासिक ६ हजार सरकारले दिँदै आएकोमा राजेशले धेरै लडाकुको कीर्ते हस्ताक्षर गरी रकम कुम्ल्याएको खबर सार्बजनिक भएपछि सनसनी मच्चियो । पार्टीमा अनियमितता छानबिन गर्न समिति पनि बन्यो । तर, न छानविन प्रतिवेदन सार्बजनिक भयो, न अनियमितता गरेका भनिएकाहरुलाई कारवाही नै भयो ।

Prabina Gole

गण्डकी एफएम पोखरामा समाचार बाचक र कार्यक्रम सन्चालक भएर काम गरेकी उनी तामाङ सञ्चार समूहमा समेत आवद्ध छिन् । पछिल्लो समय उनी मकवानपुरकै एक एफएममा काम गर्थिन् । नाक, कान, घाँटी लगायतका अन्य स्वास्थ्य समस्या देखिएपछि उनी काम छाड्न बाध्य भइन् ।

उनले काम गर्न छाड्नु पर्दा फेसबुक स्टाटस लेखिकी थिइन्, ‘लाग्छ, समानताको खोजी गर्दै परिवर्तनको सम्वाहक बन्ने बलियो माध्यम सञ्चारमाध्यम नै हो मेरो जीवन दर्शनमा । ….जनताको कानसम्म आवाज बुलन्द गर्न असमर्थ भए पनि म तपाईहरुकै माझमा हुनेछु ।’

नेताको उपचार पार्टीबाट, कार्यकर्तालाई चन्दा !

तामाङ सञ्चार समूहले देश विदेशबाट रकम संकलनको पहल गरिरहेको छ । ‘सार्बजनिक विदाका कारण बैंक खाता खोल्न समस्या भएको छ । सम्भवतः बुधबार खाता खोलिन्छ,’ सञ्चारकर्मी सन्चु ब्लोनले भनिन् ।

वाईसीएल नेता दीपशिखाले समेत प्रविनाको उपचारमा सघाउन अपिल गरेको स्टाटसमा संगम घिसिङले कमेन्ट गरेका छन्, ‘नेता भ्रमण, सभा, बैठकका नाममा पाँचतारे होटलमा मस्ती गर्ने मात्रै हो, जो पार्टीका निम्ति दिनरात आफ्नो नभनी लडिरहे । नेताको उपचार पार्टीले, कार्यकर्तालाई उपचारको लागि चन्दा ।’

प्रविना गोलेको फेसबुक स्टाटस-

Prabina-Gole

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment