विदेशमा श्रम गरिरहेका नेपालीका सपनाहरू के होलान् ? हामीले यो बुझ्ने प्रयास गरेका छौं । रेमिट्यान्सले देशको अर्थतन्त्रको उल्लेख्य हिस्सा धानेको छ । दैनिक करोडौं रुपैयाँ रेमिट्यान्सका रुपमा नेपाल भित्रिन्छ । मलेसिया र खाडीबाट भित्रिने रेमिट्यान्सलाई सम्बन्धित व्यक्तिहरुले चाहिँ के कसरी सदुपयोग गरिरहेका छन् ? त्यो रेमिट्यान्स उत्पादनमूलक काममा खर्चिरहेका छन् कि छैनन् ? हाल यूएईमा रहेका श्रमिकहरुसँग अनलाइनखबरका लागि गरिएको कुराकानी
तरकारी खेती र कुखुरापालन गर्ने योजना छ
-श्रीराम श्रेष्ठ धरान, (हाल हमिम, यूएई)
विदेश त्यसमा पनि खाडीको कमाइले के काम गर्न सकिएला र ? एक त हाम्रो खाडीमा काम गर्ने धेरै नेपालीहरुको कमाइ अति कम छ ।
त्यसमा पनि सामूहिक रुपमा लगानी गर्ने वातावरण बनिसकेको छैन । उत्पादनमूलक क्षेत्रमा खाडीको कमाइ नेपालमा लगानी गर्ने वातावरण भएका त्यसले देशको तथा लगानीकर्ताको आर्थिक स्थिति राम्रो हुन्थ्यो होला ।
सानै आकारमा भए पनि तरकारी खेती र कुखुरापालन गर्ने मेरो योजना चाहिँ छ । तर, अहिलेसम्म घरको रिन तिर्दै ठिक्क छ । किनकि म अबुधाबीमा सेक्युरिटी अफिसरका रुपमा काम गर्छु । मैले यो काम पाउन धेरै समय र पैसा लगानी गरेको छु ।
यूएई आउन नेपाल सरकारले तोकेको दरभन्दा बढी तीन लाख तीस हजार मेनपावरलाई बुझाएको छु । यहाँ आएर पनि लाइसेन्स लिन तीन महिना कुनुपर्यो । अहिले कमाइ हुन थालेको छ अलिअलि ।
सहरमा घर बनाएँ, व्यापार गर्ने विचार छ
-विवेक दुलाल क्षेत्री ,दमक (हाल : मुसाफा, यूएई)
म एउटा किसानको छोरो भएकाले त्यत्रा ठूला सपनाहरु पालेको छैन । तर, पनि अरु सबै मानिस जस्तै केही न केही स्वाभाविक रहरहरु छन् मेरा पनि । केही सपनाहरु छन्, जो पूरा भएका छैनन्, केही पूरा भए । यहाँको कमाइले छोराछोरीलाई अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदैछु । विदेशको कमाइले केही परिवर्तन त जरुर भएका छन् खाडीमा आएर पनि । हिजो म गाउँमा थिएँ तर, आज मेरो परिवार सहरमा छ । हिजो सुरुका दिनमा डेरामा राखेको थिएँ, परिवारलाई । आज उनीहरु पूर्वको सानै भए पनि सहरको आफनै घरमा रहेका छन् ।
परदेश बसाइ पनि लामै भयो । देशमा संविधान बनिने/नबनिने टुङ्गो छैन । देश अझै तरल र अस्थिर स्थितिमा गुज्रदैछ । नेपाल गएर केही गर्ने रहर छ व्यापारको क्षेत्रमा । आफ्नै देशमा गएर खेती नै भए नि नयाँ तरिकाले गर्ने हो । कोरा तडक भडक हाम्रो सत्व होइन । गाउँमा पनि केही जमिन छ, त्यही पनि केही गर्छु ।
आज अधिकांश युवाहरु बाहिरिएको अवस्था छ । यस्ले देशलाई रेमिट्यान्सको क्षेत्रमा टेवा अवश्य दिएको छ तर सधैं बाहिरिनु राम्रो होइन । उन्नत र प्राविधिक शिक्षा हुनुपर्यो । देशमा श्रम खर्चिनु पर्यो ।
विदेशको कमाइलाई म अलि फरक क्षेत्रमा लगाउने विचारमा छु । आफू साहित्यको पाठक भएकाले पुस्तक पढ्ने र किताब लेख्ने त सौख छ । तर, त्यसका साथै स्व. मातापिता पवित्रा दुलाल र श्रीकृष्ण दुलालका नाममा एक परोपकारी ट्रस्ट खडा गरी पुरस्कार स्थापना गर्ने सोचमा छु । त्यसो त आफ्नै पुस्तक पनि छिट्टै निकाल्दैछु ।
विदेशको कमाइले म सेयर मार्केटमा लगानी गरिरहेको छु
रोशन संग्रौला, झापा (हाल दुबई)
म यूएई आएको तीन वर्ष भयो । म दुबई डिउटी फ्रिमा काम गर्छु । त्यसका अलवा अन्य साइड जब पनि गर्छु । यहाँको कमाइलाई मैले अलिक फरक क्षेत्रमा लगानी गरेको छु । म नेपाली सेयर मार्केटलाई गहिरो तरिकाले यहीँबाट अध्ययन गरिरहरेको हुन्छु । सेयरको उतार चढावमा मेरो ध्यान केन्द्रित गरेको छु । विदेशको कमाइले म सेयर मार्केटमा लगानी गरिरहेको छु ।
भाइका नाममा केही कृषि विकास बैंक लगायत अन्य वाणिज्य बैंक, हाइड्रोपावर र टेलिकमको सेयर खरिद गरेको छु । चिलिमे हाइड्रोपावरको पनि केही हिस्सा सेयर लिएको छु । सेयरको भाउ बढेको खण्डमा बेच्ने पनि गरेको छु । गहिरो रिसर्च गरेर काम गरेका कारण अहिलेसम्म घाटा भएको छैन । आफू विदेशमा भए पनि भाइको नाममा सेयर खरिद गरेका कारण बेच्च पनि समस्या छैन ।
साथै, नेपाल र चीनमा ट्राभल एन्ड टुर्सका लागि प्रोसेस गरिरहेको छु । फिजिबिलिटी स्टडीका लागि एक वर्षको विदेशको कमाइ त्यसैमा खर्च भइरहेको छ । त्यस्तै यहाँको कमाइ जमिन खरिदमा पनि लगानी गरेको छु ।
उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन
डालबहादुर मिदुन सेरा, सप्तरी (हाल अबुधाबी)
म यूएई आएको ११ वर्ष भयो । पहिला म सप्लाई कम्पनीमा काम गर्न आएको थिएँ । यूएईमा दुई वर्ष काम गरिसकेपछि कम्पनी परिवर्तन गर्न सकिने भएका कारण हिजोआज एनबीआइडी बैंकमा काम गरिरहेको छु ।
पहिला कमाइ सानो थियो, खर्च पनि सानो थियो । पहिले सबैकुरा सस्तो रहेछ । पैसा कमाइथ्यो र बचाइन्थ्यो पनि । विदेशको कमाइले केही जग्गा जोडेको छु । अहिले त्यही जग्गा लिँदा लागेको ऋण तिर्दैछु । कमाइ पहिलाको भन्दा धेरै राम्रो भए पनि ऋण र महँगीले गर्दा ठोस काम गर्न सकेको छैन । नेपालमा घरखर्च दिनानुदिन बढ्दै छ । छोराछोरीको पढाइ, बिमारी खर्च, कहिले केमा खर्चले गर्दा विदेशको कमाइ उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन । कमाइ राम्रो भएर हुन्न रहेछ, बचाइ चाहिँ राम्रो हुनुपर्दो रहेछ ।
यहाँ पनि पहिला १ सयदेखि २ सय दिराम्समा मासिक खर्च धानिन्थ्यो । हिजोआज यहाँ पनि महँगी बढेको छ । आवश्यकताहरु पनि बढेका छन् । कमाइ गर्नभन्दा बचाउन जान्नुपर्दो रहेछ । खाडीको कमाइले ठूलो उपलब्धीभन्दा पनि दैनिक गुजारा चल्ने रहेछ ।
विदेशको कमाइले एउटा घर बनाउने सपना छ
सुमन श्रेष्ठ, सिम्ले, तेह्रथुम(हाल अबुधाबी)
म एक वर्षअघि भिजिट भिसामा यूएई आएर काम गर्न थालेको हुँ । भिजिट भिसामा आएर काम खोजेर काममा लाग्दासम्म करिब २ लाख नेपाली खर्च भयो ।
म अहिले युनाइटेड स्टार मोबाइल सपमा सेल्सम्यानको काम गरिरहेको छु । काम सजिलो छ, तर कमाइ चित्तबुभ्दो छैन । अब एक वर्षपछि काम चेन्ज गर्ने विचारमा छु ।
अहिलेसम्मको कमाइ बुबालाई पठाइदिएको छु । बुबाले घडेरी किन्नुभएछ । त्यही घडेरी किन्दा मैले पठाएको रकम थपथाप मात्र भयो ।
यहाँको जीवनशैली महँगो छ । कम्पनीले रुम दिएको छैन । बेड स्पेसमा बसेर युएईमा कमाइ गर्न मुस्किल छ । धेरै कमाउन सकिएको छैन । कमाइ भएमा विदेशको लगानीले एउटा घर बनाउने सपना छ ।
प्रस्तुति- रामप्रसाद ढुंगेल