Comments Add Comment

राष्ट्रियता के हो ? किन चाहियो धर्म ?

विनोद पौडेल
एनेकपा माओवादी अध्यक्ष प्रचण्ड गत साता भारत भ्रमणमा निस्किएपछि नेपालमा उनको भारत भ्रमणको विषयलाई लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाई लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड मात्र होइन, यसअघि बाबुराम भट्टराइ भारत जाँदा पनि बिरोध भएको थियो । भोली माधव कुमार नेपाल, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगाएतका नेता भारत भ्रमणमा जालान् र त्यति बेला पनि यि सबैको विरोध हुनेछ ।

Binod-Paudelयो पंतिकारलाई नेता भारत जाँदैमा विरोध गरिहाल्नुपर्छ पर्छ भन्ने चाहीँ लाग्दैन । किनभने, हाम्रा नेताहरुको देह नेपालमा जन्मिएको भएपनि राजनैतिक आत्माको जन्म भारतमा भएको हो । हाम्रा नेताहरुको राजनैतिक भोटो र लंगोटी भारतले नै लगाइदिने गर्छ, त्यसैले उनीहरुले आफ्नो मात्र लाज छोप्न सक्छन्, देशको सक्तैनन् । उनीहरुको राजनैतिक न्वारनदेखि काजक्रियासम्म भारत बिना संभब छैन । उनीहरुले नेपाल र नेपालीको बारेमा सोच्लान् र नेपालको राष्ट्रियताका विषयमा निर्णय गर्लान् भन्नु कल्पना बाहिरको कुरा हो । कारण, उनीहरुको दिमागको चाबी भारतसँग छ । उनीहरु नेपालमा विहान राष्ट्रियता भनेर उर्लिन्छन् र बेलुका भारत पुगेर भारतको राष्ट्रियताको पक्षमा सम्झौतामा लम्पसार पर्छन् ।

केही समयदेखि नेपालमा राष्ट्रियता भन्ने शब्दले महत्व पाएको छ । नेताका धेरैजसो भाषण भुषण र अन्तरवार्ताहरु राष्ट्रियताका विषयमा हुन्छन् । कतिपय नेतालाई त राष्ट्रियता र यसको सवालले यति भाबुक बनाउँछ उनीहरु त्यही आशु बगाइदिन्छन्, फिल्मी शैलीमा । मानौं देशको मायाले नै उनीहरुको शरिर बनेको छ । तर काम भने त्यसको ठीक उल्टो गर्छन् ।

खै कस्ले गर्‍यो नेपालको रक्षा ? नदीनाला बेच्ने कांग्रेस, अरुण तुहाउने एमालेदेखि, सुरुङयुद्ध र विप्पा नायक एमाओवादीसम्म नेपालको राष्ट्रियता र नेपालको माया गर्ने नेता देखिएको छैन । तराइका गच्छदारदेखि एमालेका केपीसम्म कांग्रेसका गिरिजादेखि माओवादीका प्रचन्डसम्म सबैले आफ्नो दुनो सोझ्याउन र स्वार्थ पूरा गर्न मात्र भ्याए । देशमा राष्ट्रप्रेमी, असल र इमान्दार नेताको खडेरी सँधै परिरह्यो ।

हाम्रा नेताहरुको राजनैतिक भोटो र लंगोटी भारतले नै लगाइदिने गर्छ, त्यसैले उनीहरुले आफ्नो मात्र लाज छोप्न सक्छन्, देशको सक्तैनन्

नेतालाई भाषण गर्न दिने हो भने नेपाललाई एक चुड्कीको भरमा विकास गर्ने क्षमता आफूमा छ भनेर भाषण गर्छन् । राष्ट्र राष्ट्रियता र राष्ट्रिय चिन्हको रक्षक आफू मात्र भएको भाषणबाटै प्रमाणित गर्छन् ।

नेता मात्र हैन हामी जनता पनि त्यस्तै छौं । हामी नेपाली जति बोल्छौं, हाम्रा हात त्यति नै खुम्चिन्छन् । हामी जति फूर्ति गर्छौं, हाम्रा खुट्टा त्यति नै कुझिन्छन् । संस्कार र संस्कृतिमा धनी छौं भनेर भाषण गर्न दिने हो भने हामी घन्टौं गर्न सक्छौं, तर हामीले संस्कार र संस्कृति जोगाउन सकेका छौं कि छैनौं भनेर सोच्ने समय हामीसँग छैन ।

सिके राउतहरु देशमा त्यसै जन्मेका हैनन् । उनीहरु तिनै नेताका कारणले जन्मिएका हुन् । अर्को कुरा सिके राउतलाई समर्थन गर्ने जनताहरु पनि पागल हैनन् । इतिहासले देखाउँछ नेपाली जनता, चाहे तराइका हुन्, चाहे पहाडका हुन्, चाहे हिमालका हुन्, । सबै सिंगो नेपालको माया गरेर बसेका छन् । सुन्दर नेपालको कल्पना गर्दै नेपाल एक हुनु पर्छ भन्ने नारा लगाउने यिनै जनता हुन् । जनताले सँधै कांग्रेस, एमाले, माओवादी हुँदै मधेसी दललाई समर्थन गरे । भोकै बस्न परे बसे, देशलाई रगत चाहिए दिए । जनताले यसो गर्नुमा सँघै एउटा राष्ट्रियताको मात्र स्वार्थ थिएन । नारा राष्ट्रियताका भए पनि जनतामा भोको पेट भर्ने आस थियो, शरिरमा राम्रा लुगा लाउने कल्पना थियो, ठूलाबडा र धनीहरुको चाकडी हैन, तिनीहरुसँगसँगै हिँड्ने सपना थियो ।

आफ्नो शरिर रहे पो राष्ट्रियता । शरिर भन्दा माथि जात छैन, शरिर भन्दा ठूलो धर्म छैन, त्यसैले बाँच्नु नै सबैभन्दा ठूलो कुरा छ

नेपाल विकसित होला, फराकिला बाटा बन्लान्, विजुली आउला, छोराछोरीलाई राम्रो स्कुलमा पढाउँला, ठुलो र अग्लो घरमा बसौंला भन्ने आशमा जनता सँधै आन्दोलनदेखि जनयुद्धसम्म गएका हुन् । नेतालाई धनी बनाउनका लागि र नेतालाई सुख शयलमा राख्नका लागि छातीमा गोली ठोकेका हैनन् । अब नेताले बुझ्नु पर्छ ।

राष्ट्रियता भनेको के हो ? भोको पेट, च्यातिएको लुगा र नांगा खुट्टा, लिएर नेताको पछिपछि पार्टीको झन्डा बोकेर हिँड्नु राष्ट्रियता हो ? आजसम्म भोको पेटमा नेपाल-नेपाल भनेर जनताले के पाए ? राष्ट्रले अहिलेसम्म जनतालाई के दियो ? त्यही बन्द, हड्ताल, युद्ध, गोला बारुद, तनाव, धर्म किनबेच, तिरस्कार, भोकमरी, गरिबी, मृत्यु र परिवारसँग बिछोड । त्यो बाहेक गरिब जनताले राष्ट्रबाट केही पाएका छैनन् जनताले जे गरे नेताका लागि मात्र गरे । तर, नेतालाई राष्ट्रियता चाहिएको छैन । उनीहरुलाई त केबल राष्ट्रियताको नारा चाहिएको हो, जोगीको कुमन्डलु जस्तै, मागिखानका लागि ।

आखिर शान्ति छैन, स्वतन्त्रता छैन, भोक लाग्दा मुखमा हाल्ने माड छैन, नांगो शरिर ढाक्ने लुगा छैन, टाउको दुख्दा खाने सिटामोल छैन, भूकम्प पीडितहरु बर्षायाममा भोको पेटमा पाल मुनि बस्न बाध्य छन् । नेताहरु संविधान बनाउन जनताकोमा हैन भारत जान्छन् । यति कै लागि राष्ट्रियता रहेर के भयो र ? आफ्नो शरिर रहे पो राष्ट्रियता । शरिर भन्दा माथि जात छैन, शरिर भन्दा ठूलो धर्म छैन, त्यसैले बाँच्नु नै सबैभन्दा ठूलो कुरा छ यहाँ त्यसपछि धर्म, जात, राष्ट्रियता र देश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment